‘भाईलाई बुहारी रिझाउन सिकाऊ, आमा’

-रुक्मिना माबुहाङ

Rukmina-Subba-300x283गएको मंसिर २० गते नेपाली सेनाका मेजरसँग विवाह बन्धनमा बाँधिएकी २२ वर्षीय लतासा क्षेत्रीको हत्या/आत्महत्याको खबर सुनेर निकै स्तब्ध भएँ । घट्ना हत्या वा आत्महत्या जे भए पनि पारिवारिक सम्बन्धकै कारण एउटा कलकलाउँदो उमेरकी महिलाको ज्यान गएको छ, त्यो पनि अनाहकमा । यतिबेला लतासाकी आमा बाबुको पीडा यहाँ शब्दमा बयानै गर्न सकिदैन ।

एक जना शिक्षित महिलाको राजधानी काठमाडौंमा घरेलु हिंसाका कारण ज्यान गएको छ । निश्चय पनि यो सभ्य भनिएको समाजका लागि चुनौति हो । छोरी मान्छेले समाज र आफन्तको डरले जस्तोसुकै यातना सहेर बस्नुपर्छ भन्ने मान्यता विरुद्ध विद्रोह हो । मैले हिंसा गरेको छैन क्यारे भनेर महिला हिंसा विरुद्ध मौन स्विकृति जनाउनेहरू ठाडो चुनौति हो ।

जे नहुनु थियो त्यो भईसकेको छ । जीवन भन्दा ठूला कुरा केही होइन पनि गईसकेको ज्यान फर्काउन सकिदैन । लतासाको घट्नाका दोषीले हदैसम्मको कानुनी सजाय पाउनै पर्छ, यसमा दुईमत रहेन । निश्पक्ष छानविन भयो भने अपराधीले पक्कै सजाय पनि पाउला । तर महिलामाथि हुने हिंसा यतिले मात्रै रोकिदो रहनेछ । यसअघि आफ्नै श्रीमतीको हत्या गर्ने नेपाल प्रहरीका एक उच्च अधिकारीलाई पनि सजाय भएको केही वर्षमै अर्को हाइप्रोफाइल घट्ना भएको छ । चर्चा नआएका यस्ता अनगिन्ती घट्ना दिनहुँ भईरहेका छन् जुन यहाँ उल्लेख गरिरहनै पर्दैन ।

विष रोपेर अमृत फल्दैन

यहाँ कसैलाई आरोप प्रत्यारोप गर्न खोजिएको किमार्थ होइन । तथापि हामी हाम्रा नानीहरुलाई सानैदेखि दिने गरेको गलत स्कूलिङले महिला हिंसा निम्त्याएको छ । छोरी मान्छेलाई सानैदेखि अर्काको घर जानु पर्छ भनेर यसो गर उसो नगर भन्ने आदेश दिन्छौं । किशोरवस्था पुग्दा नपुग्दै श्रीमानलाई खुशी पार्नु पर्छ । सासु ससुरालाई यसरी खुशी राख्नु । श्रीमानका आफन्तलाई नचिढाउनु भन्ने जस्ता कुरा सिकाउँछौं । जे पनि सहनुपर्छ भन्दा ज्यानै जाने गरेका यस्ता घट्ना बग्रेल्ती छन् ।

छोरीलाई त्यस्तो आदेश दिने आमाबाबुले छोरालाई अर्काको छोरीलाई जीवन संगिनी बनाएर ल्याएपछि उसको इज्जत गर्नुपर्छ भनेर किन सिकाउँदनौं । जसरीले आफ्नो छोराले केटी साथीसँग कुरा गर्नुलाई स्वाभाविक रुपमा लिइन्छ, बुहारीले पनि आफ्ना साथीसँग बोल्नु अन्यथा होइन भन्न किन सिकाइदैन । कलेज पढ्न गएकी बुहारी ११ बजेको सट्टा १२ वा १ बजे आउनु नै अपराध होइन भनेर छोराहरुलाई किन नसिकाउने ? कहिले काँही काम विशेषले ढिलोचाँडो हुन्छ भन्ने बुझ्न पनि किन नसकेको ? छोरा मान्छे जति ढिलो आए पनि हुने तर छोरीको हकमा मात्रै किन लागु हुन्छ यो समाजको बन्धन ?

समान आर्थिक–समाजिक हैसियत भएका परिवारबीचको वैवाहिक सम्बन्धमा तुलनात्मक रुपमा कम तनाव देखिन्छ । यसको सन्देश के हो भने पैसा र प्रतिष्ठा हेरेर गरिने विवाहले कहिलेकाँही समस्या ल्याउने देखिदो रहेछ । ज्वाँई सम्पत्तिवाला, शक्तिशाली वा प्रतिष्ठित छ भने माइती पक्षले आफ्नै छोरीको कुरालाई वेवास्ता गरेको घट्नाहरु पनि छन् ।

प्रत्येक बाबा आमाले विवाह भएर गएकी छोरीको पीडा बुझ्न कोशिस गर्नुपर्दछ भन्ने पाठ लतासाको घट्नाले पनि सिकाएको छ । दालमे कुछ काला हे भन्ने शंका भए पछि आमाबाबुले अग्रसरता देखाउनु पर्दछ । समाजले के भन्ला, प्रतिष्ठित भएकै कारणले हिंसा सहेर बस्नु हुँदैन । बरु छोरीको सबै कुरा सुनीसकेपछि ज्वाईको पनि कुरा सुन्ने र दुबै पक्षलाई सम्झाउनु बुद्धिमानी हुन्छ । कुनै कारणले सम्बन्ध टिक्ने नसक्ने अवस्थामा पुगिसकेको छ भने गाडीमा ब्रेक लगाउन सल्लाह दिनुपर्द, आत्महत्या वा हत्यासम्म पुग्नु भन्दा ।

माइती जाँदा ‘घरमा मिलेर बस्नु’ भन्ने र घरमा आउँदा बस्नै नसकिने अवस्था आयो भने पक्कै अनिष्ट निम्तिन्छ । आखिरि ढोका थुनेरक कुटेपछि बिरालो पनि त आक्रमण गर्छ । गल्ती, कमजोरी छ तुरुन्त सच्याउन आग्ह गर्नुपर्दछ । गल्ती गर्ने पक्षलाई ट्रयाकमा आउने गरी सम्झाउनु पर्छ ।

जे भए पनि समाज वा आफन्तको डर वा अन्य कुनै पनि कारणले ज्यान जानै अवस्था आउनै दिनुहुँदैन । र, यसका लागि छोरीलाई ज्वाई रिझाउन सिकाए जस्तै छोरालाई बुहारी सिझाउन सिकाउनु आवश्यक छ । अनि मात्रै हुन्छ, नारी–पुरुष एक रथका दुई पाङ्ग्रा । Source:opedpost.

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + sixteen =