मुर्दाको व्यापार​

murdako_businesआन्दोलनहरुले मानिसमा कहिल्यै पूरा नहुने अनेकौं महत्वाकांक्षाहरु जगाउँछन्। कतिपय महत्वाकांक्षा त राजनीतिक छल र धोका मात्र सावित हुन्छन्। अमेरिकी क्रान्तिले अफ्रिकी मूलका अमेरिकीहरु र महिलाहरुलाई बहिष्कार गरेर स्वतन्त्रताको अवधारणामाथि नै प्रश्नचिन्ह लगाइ दिएको थियो। फ्रान्सको राज्य–क्रान्तिपछि राजनीतिमा क्रोध, उन्माद र आवेशले प्रवेश गर्‍यो। नेताहरुले त्यसलाई नियन्त्रणमा लिन सकेनन्। फलस्वरुप, राज्य–क्रान्तिपछिका एक सय वर्षसम्म फ्रान्स निरंकुश राजतन्त्र अन्तर्गत शासित भयो।

नेपालमा पछिल्लो समयमा भएको क्रान्ति वा दोस्रो ऐतिहासिक जन–आन्दोलन, जे नाम दिए पनि, जनताको महत्वाकांक्षा बढाउने प्रमुख तत्व थियो। यद्यपि, नेपाली जनताको महत्वाकांक्षा पहिलो जन–आन्दोलनदेखि नै आकासिन थालेको हो। अहिले ती आकांक्षाहरु बिस्तारै धमिलिन थालेका छन्, सामान्य जनताका स–साना आशाहरु धूल धूसरित हुन थालेका छन्, उसको आत्मसम्मान कुण्ठित भएको छ र पूरै जीवन भविष्यको गर्भमा पसारो परेको छ।
हामीसँग संविधान लेख्नका लागि एउटा निर्वाचित सार्वभौम संविधानसभा छ। पुगनपुग तीन करोड नेपालीको प्रतिनिधित्व गर्न मनग्गे सभासद् छन्। एउटा निर्वाचित सरकार छ। संविधानसभाले नै संसदको काम गर्ने व्यवस्था पनि गरिएको छ। संविधानसभा, संसद र सरकारलाई निर्देशित गर्न ठूला पार्टीका सबै शीर्षस्थ नेताहरु कुण्डली मारेर बसेका छन्। उनीहरुले जे निर्णय गर्दछन् त्यसैको अनुमोदन गर्दछ संविधानसभा, संसद र सरकार।
संविधानसभाको पहिलो गर्भ तुहिएको छ। दोस्रो गर्भबाट अझै संविधान रुपी प्युसोले जन्म लिएको छैन। यसपटक पनि अधिग्रो जाने हो कि के हो? यता, संविधानको चिन्तामा डुवेका छन् एकथरि शहरीया जनता। उता, संविधान जन्माउने उपक्रम जारी छ। हातमा लिएका चक्कु पिठ्यूँमा लुकाएर शीर्ष नेताहरु विश्वासको खोजीमा लागेका छन। क्रमभंगको कुरा गर्ने क्रान्तिकारी नेताहरु आफ्नो पालो पर्खिने क्रममा लाइनमा उभिएर आफू वरपरकालाई छिर्की हाल्दैछन्। पुराणहरुमा यादव वंशको पतनको कारण मूसलको जन्म भएको कथा उल्लेख छ। महाभारतको युध्द सकिएपछि यादव वंशमा जन्मिएको त्यही मूसल यादव वंशका संस्थापक कृष्णको मृत्यु र यादव वंशको विनासको कारण बनेका थिए। मूसलको अस्तित्व नाश गर्न त्यसलाई यादवहरुले घोटेर सियो बनाएका थिए। अन्ततः त्यही सियोको प्रहारले कृष्णको मृत्यु भएको थियो।
पछिल्लो आन्दोलन सम्पन्न भएको एक दशक नाघिसकेको छ। यसबीच, संविधानसभा दोस्रो पटक चुनिइसकेको छimages। आधा दर्जन सरकार बनिसकेका छन्। तर, आन्दोलनले औंल्याएका मूलभूत सामाजिक, आर्थिक र भौतिक समस्याहरुको समाधानका लागि सरकारले कुनै प्रभावी तरिका अपनाउन सकेको छैन। सामान्य जनताले देख्दै आएको छ – उसको हजुरबाले तीन सरकारको जमानामा जे भोगेका थिए अहिले गणतन्त्रको जमानामा उ त्यही विसंगत अवस्थाको निरन्तरता भोग्दैछ। किनभने, सरकार निरन्तर छ, खाली आशनमा बस्ने व्यक्तिहरु फेरिएका छन्।

नौ वर्षपछि नेताहरुले संविधानको सिन्के धूप सल्काएका छन्। त्यो पनि वैशाख १२ मा गएको भुईंचालोको उपसंहार सावित भएको छ। संघीयताका प्रस्तावक सात दलका नेताहरु सबैका लागि घाँडो बनेको संघीय राज्यको सीमा कोरिने बित्तिकै बन्द, हडताल र मानिस मार्ने क्रम सुरु भएको छ। कैलालीको स्वप्न बाटिका बन्दै गएको टीकापुरमा प्रहरीका वरिष्ठ अधिकृत र प्रहरीहरुले वीरगति प्राप्त गरेका छन्। मारिनेमा एउटा अवोध बालक थिए जसको मृत्यको त्रासदीले मुर्छित् उनका बाबुको सोमबारसम्म होस खुलेको थिएन। आफनो नातिलाई शहीद घोषणा गराउन मृत बालकका हजुरबा राजधानी शहरमा जुटिसकेका छन्। उनले सरकार प्रमुख र सरकारसँग सम्बन्धित दर्जनभर नेता भेटेर आफनो माग राखेका छन्। देशमा शहीदको इज्जतबारे हजुरबालाई थाह छैन होला। सरकार, नागरिक समाज, विभिन्न उद्देश्यका संघ संस्थाहरु, सामाजिक संजालका प्रयोगकर्ताहरु सबैले टीकापुर आन्दोलनका क्रममा वीरगति प्राप्त गर्नेहरुको साहस र दृढताको प्रशंसामा थुप्रै भजन–कीर्तन गाएर उनीहरु सबैको वैकुण्ठवासको कामना गरिसकेका छन्। अनुष्ठानिक प्रक्रियाको अन्त्य भै सकेकोछ।

र पनि, कैलालीमा रात–दिनको निषेधाज्ञा जारी छ। आन्दोलनका नाममा राष्ट्र–विप्लव गराउन खोज्नेहरुको खोजीमा प्रतिकार र अखण्डका नाइकेहरु जोडतोडले लागेका छन्। उनीहरुले कतिको घर भत्काइदिएका छन्, कतिको घरमा आगो लगाइदिएका छन् त्यसको लेखाजोखा छैन। सुरक्षाकर्मीहरु मौन छन्। जनताको विनास रोक्ने आदेश उनीहरुलाई छैन। खाली निषेधाज्ञा पालन नगर्नेलाई ठाडै गोली हान्ने अधिकार मात्रै छ उनीहरुलाई। आन्दोलन तिनै थारुहरुले गरेका थिए जसको अहोरात्र मेहनतले कैलाली–कन्चनपुर आवाद भएको थियो। यो भूमि अंग्रेज शासकको अधिनस्थ रहँदा पनि ती थारु नेपाली थिए। अहिलेसम्म उनीहरु नेपाली छन्। मंगलबार बिहान महेन्द्रनगरबाट एकजना मित्रले फोनमा भने – यताको हालत हदै खराब छ। गाउँका गाउँ थारु युवकहरु ज्यान जोगाएर भाग्दैछन। गाउँमा शान्तिपूर्वक बस्ने वातावरण छैन। तै पनि, तपाईंहरु केही लेख्नु हुन्न। किन लेख्नु हुन्न ? किन जनताको विरोधको आवाज मध्दिम हुन लागेको छ। के थारु नेपाली होइनन? यो गणतन्त्र ल्याउन उनले योगदान गरेका थिएनन? राज्यले उनीहरुको सुरक्षागर्नु पर्दैन?

ती मित्रको जायज प्रश्नको मसँग उत्तर छैन। जोसँग उत्तर छ उनीहरु बोल्दैनन्। राज्य आफ्नै जनतासँग प्रतिशोध लिँदैछ। किनभने, राज्यले भर गरेका वरिष्ठ प्रहरी अधिकृत आन्दोलनमा मारिएका छन्। अहिले यो भन्नु खतरनाक हुनसक्दछ कि ती प्रहरी अधिकृत, जोसँग आफ्नै सुरक्षाका लागि समेत भरलाग्दो फौजसम्म थिएन, साहसी नभएर दुस्साहसी थिए। पक्कै पनि, उनले आत्मरक्षाको कला सिकेका थिए। तै पनि, उत्तेजक भीडमा एक्लै हस्तक्षेप गर्न पुगे। त्यो भीडमा आपराधिक घुसपैठको सम्भावनाको विश्लेषण समेत गरेनन् उनले। उनका अंगरक्षकले विलौना गरे – अर्को फोर्सले सुरक्षा गरेन।

देशमा असहमतिका स्वरहरु बढ्दै छन्। समस्याहरु थपिँदैछन्। शीर्षस्थ नेताहरु संविधानको सहमतिमा अल्झिएको अल्झिएकै छन्। कर्मचारीतन्त्रमा निर्भर रहेको सरकार उच्चपदस्थ कर्मचारीहरुलाई झण्डा वितरण गरेर खुसी तुल्याउन व्यस्त छ। सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रीलाई थाह छ, नेपाली मिडिया चाहेर पनि वर्तमान सरकारका विरुध्द जान सक्दैन। मिडियाका प्रमुख हस्तीहरुलाई एक दशक अघि माओवादीले चलाएको सशस्त्र व्दन्व्दको क्रममा मारिएकाहरुको हिसाब खोज्दैमा फुर्सद छैन। देशमा मुर्दाहरु थपिँदै गएका छन्। मुर्दाको राजनीति फष्टाइ रहेकाबेला संविधान निकालिहाल्नु पर्दछ। एकपल्ट उ निस्किएपछि इतिहासमा नाम कुँदिइहाल्छ। नाथे, संविधान चले चलोस नचले नचलोस्।

थाह छैन, अहिले देखिएको परिस्थितिले प्रतिक्रान्तिको पृष्ठभूमिको निर्माण गर्छ कि गर्दैन? र, यो पनि थाह छैन, लोकतन्त्रमा जनताको टाउकोमा टेकेर शासन चलाउन पाइन्छ कि पाइँदैन। थाह छैन, किनभने शीर्षस्थ नेताहरु पुडको हात्तीमा कसिएको हौदामा बसेका छन्। उनीहरु आफैं बोल्दछन् र आफैं सुन्दछन्। कसैले पनि उनका आवाज ठम्याउन सक्दैन। न उनीहरु नै कसैको आवाज सुन्न सक्दछन्।

अचानक कैलालीको स्वप्नवाटिकामा मारिएको अवोध शिशु चिच्याउँछ – म शहीद बन्न तयार छैन। उसको पछाडि आन्दोलनमा मारिएका बाबुआमा खोज्दै एक हूल केटाकेटी उसँगै उभिएका छन्।

Pahilopost.com

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =