३६ प्रतिशत कर्जाले बनायो कंगाल

Madhes report by ekal silwalसरपल्लो–८ महोत्तरीका तुफानी अन्सारीले सात वर्षअघि छिमेकी सोनेलाल महतोसँग घरखर्च चलाउन १० हजार रुपैयाँ ऋण लिएका थिए। वार्षिक ३६ प्रतिशत ब्याज दिने सर्त थियो। सोनेलालले गएको वर्षसम्म ३ लाख २० हजार रुपैयाँ पुगेको भनेर अर्को तमसुक गराएका छन्। तुफानी एक लाख रुपैयाँसम्म तिर्न तयार भए तर साहूले मानेनन्। निराश भएका ६६ वर्षीय तुफानी सोनेलालले कुनै पनि दिन अदालतमा लेनदेन मुद्दा दर्ता गर्लान् भन्ने त्रासमा छन्।

चर्को ब्याजमा साहू–महाजनको ऋण बोकेर बसेका तुफानी समाजका अगुवा नागरिक हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट चुनाव जितेर उनी वडाध्यक्ष भएका थिए। सर्वहारा वर्गको हितमा राजनीति गरेको ठान्ने तुफानी ऋण खाएर आफैं सर्वहारा भएका छन्। तर, उनले पार्टीमा कुनै दुखेसो गरेका छैनन्। तुफानी भन्छन्, ‘यो चलन बदल्न कसैको ताकतले नसक्ने भएपछि कोसँग किन भन्नू?’ उनको विचारमा ‘जसको पासमा पैसा छ उही ठूलो। त्यसकारण गाउँका साहू–महाजन देशका प्रधानमन्त्रीभन्दा ठूला हुन्।’

सरपल्लो–९, पछियारीटोलका सत्यनारायण यादवले २०६३ असोजमा वार्षिक ३६ प्रतिशत ब्याजमा गाउँकै साहू गंगा महतोसँग १३ हजार रुपैयाँ ऋण लिएका थिए। तर, समयमा तिर्न सकेनन्। उनले साहूको खेत खनजोत गरेर ऋण चुक्ता गर्ने विचार गरे। गंगाकै खेतमा काम गर्दागर्दै बिरामी भए। खाना नरुच्ने र पेट फुल्ने समस्या देखियो। उपचार गर्न पैसा थिएन। २०७० चैतमा उनी सिकिस्त भए। गाउँलेले चन्दा उठाएर उपचारका लागि पहल गरे। जनकपुर अस्पताल लैजाँदा बाटैमा सत्यनारायणको मृत्यु भयो। गंगाको खेतबारीमा सत्यनारायणले पाँच वर्ष काम गरे। तर, च्यात्न नसकी छाडेर गएको तमसुकका कारण त्यो ऋण उनकी विधवा र चार नाबालिग छोराछोरीको थाप्लामा सर्‍यो।

साहू महतो भन्छन्, ‘उसले लगेको १३ हजार हो। काम गरेर सधाउँछु (चुक्ता गर्छु) भनेर जन (मजदुरी) मा बसेको थियो। पाँच वर्षजति काम गरेर ऋण नसधाई मर्‍यो। तमसुक छ। अब म के भनूँ? उसको परिवारले तिर्नुपर्‍यो नि!’ गंगाका भनाइमा, ‘अझै पनि सत्यनारायणका दाजु जगदीशले काम गरे ऋण काटिन सक्छ।’ सत्यलाई १३ हजार रुपैयाँ ऋण दिएकै दिन सावाँ रकम ५२ हजार लेखिएको तमसुक देखाउँदै गंगाले भने, ‘तमसुक यही हो, १० वर्ष भयो। अब यसअनुसार हिसाब गर्ने हो भने एक लाख नाघिसक्यो। तर, गाउँ–समाजले जति भन्छ त्यति लिएर चित्त बुझाउँछु।’

मधेसका गाउँगाउँमा गरिबलाई साहूसँग कर्जा नलिए बाँच्न मुस्किल छ। यहाँका अति विपन्न तथा बेरोजगार परिवारले छोरीको बिहेमा दिनुपर्ने तिलक र दहेज, कामको खोजीमा खाडी र मलेसिया जाँदा तिर्नुपर्ने पैसाका लागि साहू–महाजनसँग ऋण लिनैपर्ने बाध्यता छ। यसबाहेक बिरामी हुँदा उपचार गर्न, सामान्य घरखर्च चलाउन पनि ऋण खोज्नुपर्छ।

मुलुकी ऐनले साहूलाई आसामीबाट सावाँको वार्षिक दस प्रतिशतभन्दा बढी ब्याज लिन बन्देज लगाएको छ। वर्षदिन पुगेपछि ब्याजलाई पनि सावाँमा जोडेर एकमुष्ट बनाई ब्याज लगाउने र सवा दुई वर्षपछि सावाँमा दोब्बर तमसुक बनाउनु सोझै कानुनविपरीत हो। अधिवक्ता कोषराज काफ्ले भन्छन्, ‘सावाँमा लागेको ब्याजलाई समेत सावाँ बनाएर त्यसको पनि ब्याज लिनु सरासर गैरकानुनी काम हो। कसैले त्यसरी लिएको छ भने फिर्ता गर्नुपर्छ।’ काफ्लेका भनाइमा मुलुकी ऐन लेनदेनसम्बन्धी महलको दफा ६ र ७ ले सयकडा १० प्रतिशत र सावाँ बराबरभन्दा बढी ब्याज भराउनै नपाइने कानुनी व्यवस्था गरेको छ।

तर मधेसमा जेसुकै परेर ऋण लिए पनि स्थानीय साहूलाई वार्षिक ३६ प्रतिशत ब्याज तिर्नुपर्छ। त्यति मात्रै होइन, आफ्नो लगानी सुरक्षाका लागि ऋण दिने साहूले सावाँ रकममै चार गुणा बढाएर तमसुक बनाउँछन्। त्यसमा ऋणीले हस्ताक्षर वा ल्याप्चे लगाउनुपर्छ। यसरी वास्तविक लेनदेनको अंकभन्दा चार गुणा बढीको कागजात तयार गर्नु किर्ते काम हो। दुर्भाग्य, त्यही किर्ते लिखतलाई राजनीतिक दल, समाज र सरकारी अड्डा–अदालतले मान्यता दिँदै आएका छन्। खुलेआम ठगी धन्दाको सिकार भइरहेछन् निमुखाहरू।

१९ चैत २०७२ को बिहान बलवा–५, देमनवा टोलमा बाटो नभएको जग्गामा छाप्रो बनाइरहेको अवस्थामा भेटिए ५० वर्षीय सुबलाल यादव। १० वर्ष पहिलेसम्म सडकसँगै जोडिएको १२ धुर जग्गामा सुविधाजनक घर थियो उनको। ऋण गरेर खेत किने। एकपछि अर्को साहू थपिँदै गए। पैसा तिर्न नसकेर उनी कतार गए। आठ वर्षसम्म त्यहाँ कमाएजति सबै पैसा साहूहरूलाई पठाए। तर, कसैको पनि ऋण तिरेर सकिएन।

तीन जना साहू मिलेर अदालतमा लेनदेनको मुद्दा दिए। ८० हजार रुपैयाँ ऋण लिएको पाँच वर्षपछि साहूमध्येका एक रामेश्वर यादवले सुबलालको खेत पास गराएर लिए। रामेश्वरले सुबलालबाट पटकपटक गरी पाँच लाख नगद लगिसकेका थिए। सुबलालले अर्का साहू रासविहारी चौधरीलाई चार लाख सावाँको ब्याजसमेत जोडेर १० लाख ७५ हजार रुपैयाँ तिरे। त्यो पैसा तिर्न उनले २०७२ माघमा छिमेकी सोनवा साहलाई १२ लाखमा घरघडेरी बेचे। अहिले उनको उठीबास भयो। गाउँकै भगलु चौधरीको बाटो नभएको ६ धुर जग्गा किनेर त्यहाँ छाप्रो हालेर सरेका छन्। सुबलाल भन्छन्, ‘पहिले खेत किन्ने, बालबच्चाको शिक्षा अच्छा बनाउने सपना थियो, अहिले त सिर्फ दुःख मात्रै छ।’

बनौटा–९, सरन्चियाका रामाशिष महतोले ६ वर्षअघि ज्वाइँ भोला महतोलाई विदेश पठाउन छिमेकी सरपल्लो गाविसका साहू मुजावीर बैठासँग ८० हजार रुपैयाँ ऋण लिएका थिए। जमानतबापत रामाशिषले बैठालाई १२ कट्ठा जग्गा रजिस्ट्रेसन पास गरेर दिने सहमति जनाए। तर, बैठाले झुक्याएर उनको लालपुर्जामा भएजति सबै १८ कट्ठा जग्गा नै पास गरेर लिएछन्।

विदेश पठाएका ज्वाइँले ऋण तिरेनन्। उनले कान्छा छोरा जोगिन्दरलाई अर्को ऋण खोजेर कमाउन कतार पठाए। तीन वर्ष काम गरेर फर्केका जोगिन्दरले आफू जाँदाको ऋण मात्र तिर्न सके। जग्गा फिर्ता गर्न नसकेको चिन्ताले जोगिन्दर बिरामी परे। घर फर्किएको ६ दिनपछि हृदयघातबाट उनको मृत्यु भयो।

जोगिन्दरकी पत्नी छोराछोरी लिएर माइत गइन्। जेठा छोरा बुनीलाल पनि आफ्नो परिवार लिएर घर छाडेर हिँडे। बिरक्तिएका बुनीलाल साधु भए। यसरी हेर्दाहेर्दै हँुदाखाँदाका रामाशिषको परिवार छिन्नभिन्न भयो। ऐलानी जग्गामा बनेको छाप्रोभित्र वृद्धावस्थामा सहाराविहीन उनको दम्पती मात्रै बाँकी रहे।

सिंगै जीवन साहूका लागि

बलवा– ५, चमारटोलका ठकन रामले ऋण तिर्नुपर्ने साहू ६ जना छन्। स्थानीय राजेश यादवसँग पाँच वर्षपहिले छोरा लक्ष्मणदेवलाई विदेश पठाउन ६० हजार रुपैयाँ लिएका थिए। त्यो तिरिसके। तर, साहूले ब्याज जोडेर गत वर्ष २ लाख ५० हजार सावाँ बाँकी रहेको तमसुक बनाएका छन्। अहिले तीन लाख जति पुगेको हुन सक्ने ठकनको अनुमान छ।

ठकनले सबैभन्दा पहिले २०६७ सालमा ऋण गरेर छोरा लक्ष्मणलाई मलेसिया पठाएका थिए। तर, जिउमा दाग देखिएपछि कम्पनीले लक्ष्मणलाई काम दिएन। दुई महिनापछि खाली हात फर्किए। त्यसपछि साहूहरू चन्देश्वर यादवसँग १ लाख ६० हजार र राजकिशोर यादवसँग १ लाख ऋण काढेर उनले छोरालाई साउदी अरब पठाए। जानेबित्तिकै बिरामी भएका लक्ष्मणले काम गर्न सकेनन्। तीन महिनापछि त्यहाँबाट पनि फर्किए। तीन महिना घर बसे। केही होला कि भनेर तेस्रोपटक कतार गए। त्यहाँ उनले राम्रो काम पाएनन्। दुई महिनापछि फर्किए। कमाइको आशामा छोरालाई पटकपटक विदेश पठाउँदा लागेको खर्चको सावाँब्याज गरेर अहिले उनको टाउकोमा ११ लाख रुपैयाँको ऋण छ। महिनाको सयकडा तीन रुपैयाँका दरले ६ वर्षदेखि जोडिँदै गएको ब्याजले ऋणको अंक यसरी आकासिएको हो।

सम्पत्तिका नाममा उनीसँग चार धुर घडेरीमा बनेको एउटा छाप्रो छ। आम्दानी केही छैन। ऋण सम्भि्कँदा आँखाको डिलमा टिलपिलाउन आइपुगेका आँसुका ढिका गम्छाले पुछ्दै ठकनले भने, ‘मैले यति ऋण कमाएँ। अब यही ऋण मेरा दुई छोरालाई भाग लगाइदिन्छु। सके तिर्छन्, नसके उनीहरूले पनि आफ्ना छोरालाई भाग लगाएर जान्छन्।’

सरपल्लो–८ महोत्तरीका बलिरामप्रसाद महतोले २०५९ सालमा मलेसिया जान जनकपुरका बिल्टु महतोसँग १ लाख रुपैयाँ कर्जा लिएका थिए। १८ महिनापछि खुट्टा भाँच्चिएर मलेसियाबाट घर फर्किए। साहूलाई ब्याज तिर्ने पैसा पनि पुगेन। तीन कट्ठा खेत २ लाख रुपैयाँमा बेचेर ब्याज बुझाए। दोस्रोपटक उनै साहूसँग थप १ लाख रुपैयाँ कर्जा लिएर फेरि मलेसिया गए। त्यसबेला पनि कम्पनी राम्रो परेन। दुई वर्षपछि फर्कंदा २ लाख मात्र कमाएर ल्याए। ल्याएजति सबै उनै साहूलाई बुझाए।

पहिलो पटक ऋण लिएको १२ वर्षपछि २०७१ मा साहूले हिसाब गरेअनुसार दुईपटक गरी लिएको २ लाख रुपैयाँको सावाँब्याज जोड्दा बलिरामले तिर्नुपर्ने रकम रु. १५ लाख पुगेको देखियो। त्यस बेलासम्म बलिरामले ८ लाख रुपैयाँ तिरिसकेका थिए। तिरेको सो रकम कटाउँदा अब तिर्न बाँकी रु. ७ लाख देखियो। साहूले त्यसलाई सावाँ मानेर दुई वर्षयता वार्षिक ३६ प्रतिशतका दरले ब्याज लगाइरहेका छन्। बलिराम भन्छन्, ‘पहिलोपटक ऋण लिएर मलेसिया जाँदा पक्की घर बनाउने, खेत किन्ने, छोराछोरीलाई राम्रो स्कुलमा पढाउने सपना थियो। अब त सके कमाएर, नसके बाँकी रहेको सबै सम्पत्ति बेचेर पनि साहूको ऋण तिर्न पाए पुग्छ।’

मृत्युपछि ऋणमुक्त, परिवारको बिचल्ली

सहसौला–३, महोत्तरीका ३० वर्षीय रामस्नेही मण्डल २०७२ मंसिरमा छिमेकी शिवजी खत्वेसँग ३६ प्रतिशत ब्याजमा १ लाख ३० हजार रुपैयाँ ऋण लिएर साउदी अरब गएका थिए। राम्रो काम परेन, पाँच महिनासम्म एक रुपैयाँ पनि पठाउन सकेनन्। ११ चैत २०७२ का दिन सुतेकै अवस्थामा उनको मृत्यु भयो। हामी उनको घरपुग्दा पनि रामस्नेहीका बाबुआमा मानसिक पीडा खप्न नसकेर रुने र बर्बराउने गरिरहेका थिए। गर्भवती पत्नी गंगा आँखै नहेरी रोइरहेकी थिइन्। एक वर्षकी छोरी आँचल आमाको काखमा बसेर आमाको अनुहार नियाल्दै उसरी नै रुँदै थिइन्।

रामस्नेहीको मृत्युको खबर सुनेपछि उनका बाबु रामशोभितले नौ जना साहूलाई तिर्नुपर्ने सावाँ जोडेर हिसाब निकाले। करिब सवा ६ लाख रुपैयाँ तिर्न बाँकी देखियो। यो ऋणको सूचीमा तीन वर्षअघि छोरा जन्मियोस् भन्ने भाकल गर्दै रामस्नेहीका दुई दाजुभाइले महोत्तरीकै परवलमा रहेको कारिकस्थान मन्दिरमा बलि चढाएका चार बोका किन्दा अनिल मण्डलसँग लिएको ३० हजार रुपैयाँ पनि समावेश थियो। त्योसमेत ६ लाख २० हजार रुपैयाँ सावाँको वार्षिक ३६ प्रतिशत अर्थात् मासिक सयकडा ३ रुपैयाँका दरले ब्याज लागिरहेको थियो।

मृत्यु भएको २४ दिनपछि रामस्नेहीको शव घरमा आइपुग्यो। उनलाई काम लगाउने कम्पनीले नै शव पठाइदिए पनि मृत्युअघि काम गरेको तलब वा क्षतिपूर्ति केही पनि आएन। परिवारले ऋण खोजेर काजक्रिया गर्‍यो। श्रमस्वीकृति लिएर गएका रामस्नेहीको परिवारलाई पछि नेपाल सरकारले बीमा र क्षतिपूर्ति वापत ७ लाख रुपैयाँ दियो। त्यही रकमले रामस्नेहीलाई मृत्युपश्चात् ऋणमुक्त बनायो। अहिले परिवारमा रामस्नेही छैनन्। उनको परिवारले तिर्नुपर्ने ठूलो ऋण पनि बाँकी छैन।

रामगोपालपुर–३ महोत्तरीका झगरु सदा २०६८ असारमा गाउँका महाजनहरूबाट ३६ प्रतिशत ब्याजमा डेढ लाख रुपैयाँ कर्जा लिएर पैसा कमाउन साउदी अरब गएका थिए। १० महिनापछि काम गर्दागर्दै उनको त्यहीँ मृत्यु भयो। पत्नी कुस्मादेवीले ६० हजार रुपैयाँ ऋण खोजेर ६ महिनापछि उनको शव नेपाल ल्याएर दाहसंस्कार गरिन्। सरकारबाट बिमाबापत पाएको ५ लाख रुपैयाँ साहूको कर्जा र पतिको काजक्रिया गर्दा सकियो। घरजग्गा जोड्ने योजनाले कमाउन विदेश गएका पति गुमाएकी ४० वर्षीया कुस्मादेवी ऐलानी जग्गामा बनेको छाप्रोमा बसेर ज्यालामजदुरी गर्दै चार छोराछोरी पालिरहेकी छन्।

साहूको हतियार चार गुणाको तमसुक

ऋण लिँदै सावाँ रकम चार गुणा बढाएर तमसुक बनाउने चलन छ मधेसका गाउँमा। गरिब–निमुखालाई सताउने तरबार हो यो, तमसुक। एउटै गाउँका दुई जना ऋणीमध्ये ज्यालामजदुरी गरेर परिवार पाल्ने विपन्न वर्गकालाई सावाँको चार गुणा बढाएर ३६ प्रतिशत ब्याजदरको तमसुकमा ल्याप्चे लगाएपछि मात्र ऋण दिने चलन छ। तर, उही ठाउँको मध्यम तथा उच्चवर्गीय ऋणीले भने न चार गुणा बढीको तमसुकमा सहीछाप गर्नुपर्छ न त ३६ प्रतिशत ब्याज नै तिर्नुपर्छ। उनीहरूलाई सरकारी बैंक तथा गाउँका वित्तीय संस्थाले सस्तो ब्याजमा कर्जा दिन्छन्। सरपल्लो–९, पछियारीटोलका श्रमिक सत्यनारायण यादवलाई छिमेककै साहू गंगा महतोले १३ हजार रुपैयाँ ऋण दिएर ५२ हजारको तमसुक बनाए र ३६ प्रतिशत ब्याजमा कर्जा दिए। त्यही ऋण कट्टी गर्न पाँच वर्षसम्म साहूको खेत खनजोत गर्दागर्दै बिरामी भएर सत्यनारायणको मृत्यु भयो। अहिले पनि ऋण जतिको त्यत्ति छ।

साहू गंगाका भाइ जामुनप्रसाद महतोले चाहिँ कृषि विकास बैंकबाट १५ प्रतिशत ब्याजदरमा तीन लाख रुपैयाँ ऋण पाएका छन्। गाउँकै धनाढ्य व्यक्तिसँग अर्को तीन लाख रुपैयाँ ३० प्रतिशत ब्याजमा लिएको र त्यसको तमसुक नै नबनाएको उनको भनाइ छ। त्यति मात्र होइन, उनले अरू दुई लाख रुपैयाँ ऋण छोटो समयका लागि नजिकको साथीबाट निर्ब्याजी पाएका छन्। उनी भन्छन्, ‘आयस्रोत नभएका र विश्वास गर्न नसकिने मान्छेलाई ऋण दिँदा कसैलाई तमसुक बनाए पुग्छ, कसैबाट त पहिले नै जमानतस्वरूप जग्गा पास गरेर लिनुपर्छ। नत्र साहूको पैसा डुब्छ।’

बलवा–६, रामटोलकी परमदेवी रामले ६ वर्षअघि छिमेकी भोला रामका ज्वाइँ फुलगेन रामका लागि साहू रामप्रसाद यादवसँग १ लाख रुपैयाँ ऋण लिइदिइन्। पैसा एजेन्टले खाइदिए। फुलगेन विदेश जान पाएनन् र पैसा तिर्न सकेनन्। ऋणको भार परमदेवीकै थाप्लामा थियो। उनले पटकपटक गरेर साहूलाई ५ लाख ६० हजार रुपैयाँ तिरिसकिन्। साहूले अझैै ४ लाख ४० हजार तिर्न बाँकी देखाएका छन्। फुलगेनका लागि लिइदिएको ऋणको फन्दामा आफू परेपछि परमदेवीले पनि फुलगेनलाई ९ माघ २०७१ मा वार्षिक १० प्रतिशत ब्याजमा १३ लाख ९२ हजार रुपैयाँ ऋण दिएको तमसुक बनाएकी छन्।

यो तमसुक वास्तवमा ३ लाख ३८ हजार रुपैयाँ सावाँको हो। त्यसको ३६ प्रतिशतका दरले ब्याज लाग्ने भए पनि चलनचल्ती अनुसार सावाँ रकमलाई चार गुणा बढाएर १३ लाख ९२ हजार देखाई ब्याजदर १० प्रतिशत राखेर तमसुक बनाइएको हो। तमसुकको व्यहोरामा चार गुणा बढी रकम र १० प्रतिशत ब्याजदर तथा पुछारको छेउमा वास्तविक रकम र ३६ प्रतिशत ब्याजदर लेखिएको छ। तराईमा ऋण लेनदेन गर्दा प्रायः यसरी नै तमसुक लेख्ने गरिन्छ। पैसा नउठेर मुद्दामामिला गर्नुपरे साहूले तमसुकको अन्त्यमा लेखिएको वास्तविक सावाँ र ब्याजदर उल्लिखित भाग काटेर फ्याँकिदिन्छन् र माथिल्लो व्यहोराअनुसार चार गुणा बढाएको सावाँ र त्यसको १० प्रतिशत ब्याज दाबी गर्दै अदालतमा निवेदन दिन्छन्। साहू रामप्रसाद यादवले परमदेवीको नाममा पनि यस्तै तमसुक लेखाएर राखेका छन्। एउटै ऋणको दुश्चक्रमा डुबेका परमदेवी र फुलगेन तराईमा व्याप्त शोषणको साङ्लोमा बाँधिएका पीडितका प्रतिनिधि पात्र हुन्।

‘एजेन्टका चम्चा’ हरू

यो ज्यादती कसरी हुन्छ भन्ने थाहा पाउन मधेसको समाज, राजनीति, अर्थतन्त्र र नेपालको राज्य प्रणालीका कामकारबाही नियाल्नुपर्छ। राजधानी काठमाडौंमा रहेका वैदेशिक रोजगार कम्पनीका एजेन्टहरू जिल्ला सदरमुकाम जलेश्वर तथा नजिकको सहर जनकपुरमा कार्यालय खडा गरेर बसेका छन्। उनीहरू मुख्यतया खाडी मुलुकका लागि श्रमिक आपूर्ति गर्छन्। त्यस्ता एजेन्टले कमिसन दिएर गाउँगाउँमा आफ्ना प्रतिनिधि खटाएका छन्। ‘एजेन्टका चम्चा’ भनेर चिनिने त्यस्ता व्यक्ति गाविसका प्रत्येक वडामा कम्तीमा पाँच जना भेटिन्छन्। भिन्नाभिन्नै वैदेशिक रोजगार कम्पनीका लागि काम गर्ने तिनै ‘चम्चा’ हरूको धन्दाबाट सुरु हुन्छ, शोषणको घातक शृंखला।

उनीहरू घरघर पुगेर बेरोजगार गरिबहरूलाई आकर्षक वैदेशिक रोजगारीको प्रलोभन दिन्छन्। कसैको बनिसकेको पासपोर्ट पाए संकलन गर्नु र बनाइनसकेकालाई आफैंले ऋणसमेत हालिदिएर पासपोर्ट बनाउन प्रेरित गर्नु उनीहरूको काम हो। त्यसरी बटुलिएका पासपोर्ट एजेन्ट हुँदै काठमाडौंका म्यानपावर एजेन्सीसम्म पुग्छन्।

गाउँका बेरोजगार गरिबलाई पासपोर्ट बनाउँदादेखि नै ऋण चाहिन्छ भन्ने ज्ञान ‘चम्चा’ हरूलाई हुन्छ। पासपोर्ट बनाउने र म्यानपावर कम्पनीलाई बुझाउने पैसा उनीहरूले आफैं या आफ्नो वृत्तका साहूबाट ऋण मिलाइदिन्छन्। बेरोजगारी र विपन्नताको फाइदा उठाउँदै चर्को ब्याजमा ऋण लगानी गर्ने साहूसँग ‘चम्चा’ हरूको साँठगाँठ हुन्छ। गरिबलाई कंगाल बनाउने त्यही ऋणको जगमा फस्टाइरहेको छ रोजगार व्यवसायी कम्पनी, एजेन्ट र स्थानीय ‘चम्चा’ हरूको ठगी धन्दा।

यतिसम्म कि स्वास्थ्यजाँचमा फेल भएकालाई पास भएको किर्ते प्रमाणपत्र दिइन्छ। पैसा लिइन्छ तर महिनौंसम्म अलमल्याएर राखिन्छ। पैसा र पासपोर्ट गायब बनाएर ‘चम्चा’हरू बेपत्ता हुन्छन्। यसको परिणाम, चर्को ब्याजमा ऋण दिने गाउँका साहू चार गुणा सावाँ बढाएर बनाएको किर्ते तमसुकको आडमा ऋणीका परिवारलाई ‘घर छाड’ भनेर तर्साउन थाल्छन्।

समाजमा साहूको पक्षमा हाकाहाकी तर्क गर्नेहरू भेटिन्छन्। नेकपा माओवादी केन्द्र सरपल्लो गाउँ कमिटी इन्चार्ज लालबाबु साह भन्छन्, ‘ऋण लिएकै बेला चार गुणा सावाँको तमसुक बनाएपछि गाउँमा पैसा उठेन भने अदालत गएर लेनदेनको मुद्दा लड्नुपर्दा सजिलो हुन्छ। यसो हुँदा साहूलाई नोक्सान पर्दैन।’

समाजवादी फोरम नेपाल सरपल्लो गाउँ एकाइ कमिटी अध्यक्ष उमेशकुमार महतो भन्छन्, ‘१ लाख ऋण लिँदा ४ लाखको कागज बन्छ। वार्षिक ३६ प्रतिशत ब्याजका हिसाबले लिएको ऋण सवा दुई वर्षमा दोब्बर हुन्छ। त्यसपछि तमसुक बदलिन्छ। यहाँ ऋणीलाई भगवान्ले पनि बचाउन सक्दैनन्।’

तमसुकको सामाजिक अर्थ–राजनीति

सोझा गरिबहरू साहूले लेखाएको तमसुकमा ल्याप्चे लगाएका वा हस्ताक्षर गरेका दिनदेखि ऋणको तलाउमा डुब्छन्। शोषणको यो अर्थतन्त्रबाट गाउँगाउँका लेखनदासको लेखापढी पेसा चलेको छ। टोलटोलमा तमसुक लेखेरै जीविका चलाउने लेखनदास भेटिन्छन्। उनीहरू एउटा तमसुक लेखेको १ सयदेखि ३ सय रुपैयाँसम्म लिन्छन्। यो पैसा ऋणीले तिर्नुपर्छ। लेखनदासले औसतमा दिनको तीनवटा तमसुक लेख्छन्। दैनिक सरदर ५ सयका दरले उनीहरूको मासिक आम्दानी १५ हजार रुपैयाँ हुन्छ। खाडी मुलुक गएका कामदारले जोखिम मोलेर कमाएको श्रमबाट हुने कमाइभन्दा यो रकम बढी हो।

एउटै ऋणीले धेरै जना साहूसँग थोरैथोरै ऋण लिने र प्रत्येक साहूले हरेक सवा दुई वर्षमा तमसुक बदलिरहने हुनाले लेखनदासहरूले काम पाइरहेका हुन्छन्। तमसुक लेख्दा खर्च हुने समयको बचत गर्न हिजोआज उनीहरूले नेपाली कागजमा छपाइ भएका तयारी तमसुक फाराम प्रयोग गर्न थालेका छन्। यसमा साहू, ऋणी र साक्षीको विवरण तथा सावाँ र ब्याजको अंक लेखे पुग्छ। जलेश्वर बजारमा किन्न पाइने यस खालका फारामको माग बढ्दै गएपछि तमसुक अर्थतन्त्रबाट हुने लाभको अंश स्टेसनरी व्यवसायी र छापाखानासम्म पुग्न थालेको छ। यसरी सबैले कमाइरहँदा गुमाउनेचाहिँ तल्लो वर्गका ऋणी मात्रै छन्।

महोत्तरी जिल्ला अदालतमा चलेका मुद्दामामिलाको तथ्यांकले यहाँको साहूमहाजनी प्रथाको सामाजिक असर कति व्यापक छ भन्ने देखाउँछ। अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा जिल्ला अदालतमा दर्ता भएका ३८ प्रकारका ३ हजार ५ सय ३१ मुद्दामध्ये सबैभन्दा बढी ९ सय ४१ वटा लेनदेनसँग सम्बन्धित थिए। यो संख्या कुल मुद्दाको झन्डै २७ प्रतिशत हो। जिल्ला अदालत महोत्तरीले वर्षभरि गर्ने न्यायसम्पादनको झन्डै एकतिहाइ काम लेनदेन मुद्दामै केन्द्रित हुने यो आँकडाबाट स्पष्ट हुन्छ।

साहूले लेखाएको किर्ते तमसुकलाई न्यायालयले मान्यता दिने गरेको छ। किनभने ऋण लेनदेनका प्रायः सबै मुद्दामा अदालतले चार गुणा सावाँ बढाएर बनाएको नक्कली तमसुकलाई नै प्रमाण मानेर साहूको पक्षमा फैसला गर्दै ऋणीबाट बिगोबराबरको सावाँब्याज भराइदिएको देखिन्छ। अदालतका स्रेस्तेदार भोजकुमार बस्नेत भन्छन, ‘ऋणीको मौखिक दाबीभन्दा साहूको लिखित तमसुकलाई मान्यता दिने प्रचलित कानुनका कारण यस मामिलामा सामाजिक न्याय दिन नसक्नु अदालतको बाध्यता हो।’

यस्ता मुद्दा अदालत पुगे ऋणीहरूको हालत कतिसम्म नाजुक हुन्छ भन्ने उदाहरण गाउँमा बग्रेल्ती भेटिन्छन्। सरपल्लो–३, खुसनगरीका अघनु मण्डलले छिमेकका साहू ठगा साहसँग दुईपटक गरी २ लाख ५ हजार रुपियाँ ऋण लिएका थिए। साहले त्यसमध्ये १ लाख ५ हजारको पाँच गुणा र अर्को १ लाखको आठ गुणा बढाएर तमसुक बनाएका कारण चार वर्षमै त्यो ऋणले अघनुको सिंगो परिवारलाई सुकुमबासी बनाइदियो। २०७३ असार २५ गते बिहान १० बजे चर्को घाममा भैंसी चराइरहेको अवस्थामा भेटिएका अघनु मानसिक रूपमा विक्षिप्त देखिन्थे।

अघनुलाई ऋण दिँदा बनाएको आठ गुणासम्म बढी सावाँका किर्ते तमसुक लिएर उनका साहू न्यायालयसम्म पुगे। महोत्तरी जिल्ला अदालतले तिनै तमसुकलाई मान्यता दिँदै एक वर्षअघि साहूकै पक्षमा फैसला सुनाएपछि अदालतकै आदेशमा अघनुको नाममा रहेको घरसहितको डेढ कट्ठा घडेरी र आठ कट्ठा खेत साहूका छोरा रामबाबु साहले पास गरेर लिए। खेत साहले कब्जा गरेर पनि पाँच कट्ठा बेचिसकेका छन्। अघनुको १९ जनाको परिवार अन्त जाने ठाउँ नभएकाले पुरानै घरमा बसिरहेको छ। साहू ठगा साह अब उनको परिवारलाई निकालेर घर कब्जा गर्ने तयारीमा छन्।

शोषणको यो जालोमा नेपालका सबैजसो बैंक तथा वित्तीय संस्था पनि कुनै न कुनै रूपमा जोडिएका छन्। नेपाल राष्ट्र बैंक र सहकारी विभागको पछिल्लो तथ्यांकअनुसार महोत्तरी जिल्लामा विभिन्न बैंक तथा वित्तीय संस्थाका ४८ वटा शाखा छन्। बचत तथा ऋणको कारोबार गर्ने ६ सय ७४ वटा सहकारी संस्था कार्यरत छन्। तीमध्ये स्थानीय सहकारी संस्थाले गरेको ऋण लगानीको अंश ४८ करोड ६७ लाख ८७ हजार रुपैयाँ छ । यो रकमको धेरथोर अंश ती साहू–महाजनकहाँ पुगेको छ जो गरिब र विपन्नमाथि अत्याचारपूर्ण ब्याजमा कर्जा लगाएर उनीहरूको उठीबास गराइरहेका छन्।

(खोज पत्रकारिता केन्द्रका लागि तयार आलेखको सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =