जारी प्रथा :नेपालमै यस्ता ठाउँ छन् समाजभित्रै किनबेच हुन्छन् महिला

rasuwaदाम्पत्य जीवन सुखी भएन भने तपाईं के गर्नुहुन्छ ? तपाईंको जवाफ होला – श्रीमान श्रीमती सँगै बस्न नसक्ने भएपछि औपचारिक रुपमा सम्बन्ध विच्छेद गरिन्छ । तर, नेपालमै यस्ता ठाउँ छन् महिलाले श्रीमान सँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुट्टिनुपर्छ । त्यहाँ न त विवाह दर्ताको औपचारिक प्रकृया छ न त सम्बन्धविच्छेद । बरु, यस्तो सामाजिक नियमले काम गरेको छ ‘जारी’ बापतको रकम तिरेर महिलाले पुनर्विवाह गर्नुपर्छ ।

रसुवा जिल्लाका तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै कायम छ । यो प्रथाका कारण महिलालाई किनबेच गर्न सकिने साधनका रुपमा लिईँदै आएको छ ।

२५ वर्षकी सरिता तामाङ आफ्नो समुदायको यो कुप्रथाबाट पीडित महिला हुन् । सरिताको ५ पटकसम्म विवाह भइसक्यो । कहिले जबरजस्ती त कहिले अभिभावकले ‘पोङ’ स्वीकार गरेको कारण सरिता आफ्नै समुदायभित्र कहिले १ लाख रुपैयाँ त कहिले सवा लाखसम्मको मोलतोलमा विनिमय भइरहिन्  ।

‘पोङ खाएर बुबाआमाले १६ वर्षमा मामाको छोरासँग विहे गरिदिए’ सरिता भन्छिन् – ‘आमाबुबाले जबरजस्ती विहे गरेपनि त्यो केटा मलाई मन परेन । उसले मलाई माया पनि गरेन ।’ पहिलो केटासँग वैवाहिक सम्बन्ध राम्रो नभएपछि सरितालाई गाउँ नजिकैको केटाले तानेर लगे । त्यतिबेला दोस्रो श्रीमानले पहिलो श्रीमानलाई १ लाख रुपैयाँ जारी बापतको रकम तिरेका थिए ।

दोस्रो विवाह गरेको श्रीमानले १ लाख तिरेर विवाह गरेपछि सरितालाई नराम्रो व्यवहार गर्न थाले । ‘तँलाई १ लाख रुपैयाँमा किनेर ल्याएको त हो नी भनेर कुट्ने पिट्ने गर्न थाल्यो ।’ उनले भनिन् – ‘सँधै कुटेको कुट्यै गर्न थालेपछि उसँग बस्न सकिन ।’ दोस्रो श्रीमानसँग पनि सम्बन्ध टुटेपछि पहिलो श्रीमानबाट जन्मिएको छोरीसँगै उनले तेस्रो विवाह गरिन् । तेस्रो श्रीमानसँग पनि राम्रो सम्बन्ध नभएपछि उनले चौथो पटक विवाह गरेकी छिन् । दुई महिनाअघिमात्रै विवाह भएको उनले ७५ हजार रुपैयाँ जारी तिर्न सकेकी छैनन् । ‘१ लाख २५ हजार रुपैयाँमध्ये  ५० हजार तिरिसकें’ सरिताले भनिन् – अब ७५ हजार बाँकी छ । चाँडो पैसा नदिए हातखुट्टा काटिदिने भन्दै  दिनदिनै धम्की आउँछ ।’

मुलुकी ऐन २०२० को लोग्ने स्वास्नीको महलको १ नम्बरले जारी प्रथालाई परिभाषित गर्दै विवाहित पुरुष तथा महिलाले परपुरुष तथा परस्त्रीसँग यौन सम्पर्क गरेको ठहरेमा सम्बन्ध विच्छेदको आधार बन्ने व्यवस्था गरेको थियो । यद्यपी, अहिले मुुलुकी ऐनबाट जारीको व्यवस्था नै हटाएको छ । कानुनले समाजमा जारी प्रथा छ भन्ने नै मान्दैन । तर, रसुवाको तामाङ समुदायमा भने यो प्रथाले कानुनजत्तिकै मान्यता पाएको छ ।

रसुवाको नागरिक समाजका अगुवा बाबुलाल तामाङका अनुसार जारी प्रथा तामाङ समुदायले दोस्रो विवाह रोक्नको लागि समाजले राखेको जरिवाना हो । हिमाली जनजातीको संस्कृति अनुसार गरिने यो दण्ड पछिल्लो समय भने महिलाको पुनर्विवाहको मूल्यमा परिणत भएको छ ।

जारी प्रथाकै कारण समस्यामा परेकी अर्की महिला हुन् किप्पा तामाङ । उनले एक महिना अगाडि मात्रै दोस्रो विवाह गरेकी थिईन् । ११ वर्षको उमेरमा किप्पाको पहिलो विवाह भएको थियो । तर, लामो समय श्रीमान विदेश बसे । साउदीमा काम गर्न गएका श्रीमानले किप्पालाई वेवास्ता गर्ने, घर आएको बेला कुटपीट गर्ने गर्न थाले । ‘घर आएको बेला पनि कुटपीट गर्ने । खर्च नदिने गरेपछि घर बस्न सकिनँ’ किप्पाले दोस्रो विवाह गर्नुको कारण खुलाईन् ।

दोस्रो विवाह गरेबापत उनको पहिलो श्रीमानले ३ लाख रुपैयाँ जारी रकम माग गरेका थिए । समाजका भद्र भलाद्मी बसेर १ लाख रुपैयाँ मोल घटाई किप्पाले पुनर्विवाह गरेबापत २ लाख रुपैयाँ तिर्नुपर्ने मूल्य तोकिदिए । पहिलो विवाह भएको १३ वर्षको अवधीमा किप्पाको पहिलो श्रीमानसँग विवाह दर्ता पनि थिएन । उनले कानुनी रुपमा सम्बन्ध विच्छेद पनि गरिनन् । २ लाख रुपैयाँमा नै उनको सम्बन्ध विच्छेद भयो ।
दुई महिनाअगाडि बिहे गरेका श्रीमानले किप्पालाई धम्की दिन थालिसकेका छन् । अब जारीबापतको रकम कसरी तिर्ने तनाबमा छिन् उनी । भन्छिन् – ‘२ लाख ऋण गरेर तिर्‍यौं । २ लाखको ब्याजसहितको तिर्नुपर्ने छ । ऐलेको श्रीमानले पनि २ लाख तिर्न काम गर्न जा भन्छ । म कहाँ काम गरेर पैसा तिरुँ थाहा छैन ।’

किप्पा र सरिता त रसुवाको तामाङ समुदायका प्रतिनिधि पात्र मात्रै हुन् । स्थानीय अधिकारकर्मी सुनिता गुरुङका अनुसार विशेष गरी रसुवाको हाकु, गोल्जु, गत्लाङ, ठूलो हाकुलगायतका केही गाविसमा जारी प्रथा कायम छ । जारी प्रथाका कारण महिलाहरू आफ्नै समुदाय भित्र किनबेच भइरहेको उनले बताईन् । गुरुङ थप्छिन् – ‘जारी प्रथा समाजमा विद्यमान छ भनेर कानुनले परिकल्पना नै गरेको छैन । तर, यो प्रथाका कारण महिला अझै समस्यामा परेका छन् ।’ उनका अनुसार जारीको नाममा तिरेको रकम तिर्न श्रीमान तथा परिवारका अन्य सदस्यले पटक/पटक दबाब दिँदा महिलाहरू मानसिक समस्याको सिकार समेत हुनुपरेको छ ।

रसुवाका सांसद छोवाङ तामाङ कम उमेरमा नै पोङ लिएर फुपुचेला मामा चेलीको मगनी हुने, जारी तिरेर पुनर्विवाह गर्नेलगायतका परम्परा पहिलेदेखि यहाँको तामाङ समुदायमा रहेको बताउँछन् । जनचेतना, शिक्षालगायतका कारण अन्य स्थानमा यो कुरीति हटे पनि जिल्लाका केही गाविसमा अझै यी प्रथा कायम रहेको उनी बताउँछन् । सांसद तामाङको पनि पोङ खाएर विवाह भएको थियो । यद्यपी, जारी प्रथा भने आफ्नो पारिवारमा नरहेको दावी उनले गरे ।

जारी प्रथाका कारण महिला समस्यामा परेको भए पनि कानुनी उपचारमा उनीहरू पुगेकै छैनन् । स्थानीय भद्र भलाद्मी बसेर पुनर्विवाहको मूल्य तोकिदिने हुनाले प्रहरी, प्रशासनसम्म यस्ता उजुरी नै पर्दैनन् । न त प्रशासनले यस्ता प्रथाविरुद्ध कुनै अभियान चलाएको छ  । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार कानुनबाट नै हटिसकेकोे जारी प्रथाको उजुरी अहिलेसम्म प्रशासनसम्म पुगेको छैन । प्रहरी प्रशासनमा उजुरी परे प्रथा परम्पराको नाममा हुने यस्ता अवैधानिक क्रियाकलापमा प्रहरी प्रशासनले कारबाही गर्ने उनले बताए ।Source:mahilakhabar

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =