भूमध्यसागरबाट काठमाडौ सम्झेर

प्रिय काठमाडौं

samashreeविदुतिय सञ्चारको यति बलियो माध्यम हुँदा हुँदै पनि मैले लेखेको यो हस्तलिखित पत्र देख्दा र पढ्दा तिमीले अचम्म मानिरहेको कुरा म महशुस गरिरहेकी छु । या तिमी उदेक पनि मानी रहेका होलाउ किन सादा पानामा मसीका पढ्न मिल्ने बुट्टाहरु झिँझो नमानीकन लेखेर पठाई यो साथीले भनेर । तिमीसँग दिन नबिराई हुने च्याटका वावजुद, प्रत्यक्ष कुराकानीका अलावा पनि यसरी कागजमा आफ्ना भावना पोख्दा मैले कस्तो सुखानुभुती गरेकी छु, त्यो सम्पूर्ण खुलेर भन्न त सक्दिन । तर अक्षरहरु खाली पानामा लेखि रहदा म तिम्रो अनुहारमा झल्कन जाने विभिन्न भावहरुलाई प्रतेक अक्षरमा प्रष्ट अनुभूत गर्दै छु । यस्तो लाग्दैछ मानौ, म तिम्रा अगाडि अक्षर भएर उभिइ रहेकी छु र तिमी निर्वादसँग मलाई अक्षर अक्षर पढि रहेका छौ । के यो आफ्नै प्रकारको अनुभव र अनुभूति होइनन् र ?

प्रिय काठमाडौँ, रेखाहरू सरल पनि हुन्छ्, बाङ्गाटिङ्गा पनि हुन्छ् । ग्लोबको त्यस ठाउँबाट यस ठाउँलाई सरल रेखाले पनि जोडन सकिन्छ र वायुमार्गका बाङ्गाटिङ्गा रुटहरूबाट पनि जोड्न सकिन्छ । तर खै किन हो कुन्नि, सायद तिमीसँग सरल आत्मीय रेखाबाट जोडिएकोले भएर पनि होला, मलाई सरल रेखाबाट नै तिमीसँग जोडिन मन लाग्छ । सरल सोझो रेखा हेर्दा सामान्य देखिए पनि यो आफ्ना एक एक घर, एक एक कोठामा मधुर गुञ्जन बोकेर चुपचाप बसी रहने कुनै विणाको तार जस्तै हुँदो रहेछ । नचलाईएका यिनै एक लम्ब तारहरूका कोठामा तिमीलाई भेटने, तिमीलाई हेर्ने, सुम्सुमाउने र आत्मसात गर्ने चाहनाहरु यता बर्षौँदेखि कैदी भएर नबसेका होइनन्, छन् । उता तिमीले जतन गरी राखेका तिम्रा अनुरोध, घुर्की, माया, वास्ता र मोह आदिले पनि मलाई बारम्बार नघचघचाएका, नपिरोलेका र नबिझाएका होइनन्, मनग्गे छटपटाइ दिएका थिए, छन् । वातयाममा म झंकृत भएर हरबखत तिमीलाई भेटन चाहनाको भ्रुण कोखमा पालिरहन्छु । तर जति पटक यो भ्रुण हुर्केला जस्तो हुन्छ, त्यति पटक नै विवषता आएर हरिताल पिउन बाध्य बनाउँछ र मेरा रहरका भ्रुणहरू तुहिइ रहन्छन् । जीवन सरल देखिन्छ मात्र, सरल कहिल्यै बनिदिँदैन । यसपालि तिमीलाई भेटने मेरो उत्कट चाहनाका भ्रुणको फेरि अधिग्रो गएको छ । त्यसैले त व्यथित म मेरा अधिग्रो गएका सपनाहरूको रङ्ग कागजमा लेप्दै छु नि ।

छैन छैन, मलाई बातयामको मोह पटक्कै छैन । आमाको काखभन्दा मनमोहक स्वर्ग त हुँदैन भने बातयाम र तिम्रो के तुलना र १ रहरले पुगेकी भए पो यसको सौन्दर्यमा सम्मोहित भएँ भन्नु ! त्यसो पनि त हैन । फेरि एक मनले तिमी विदेशिएपछि सबैका आँखामा पैसा लिसोझैँ टाँसिन्छ पनि भन्दा हौ । तर हाय मेरो दुर्भाग्य र विवशता ! हाम्रो लागि यतातिरको ए।टि।एम। पनि कुनै कार्डले खुल्दैन, पसिनाले बेस्सरी चिस्याएपछि मात्र अलिकति उघ्रेको जस्तो भईदिन्छ । हो, यति नै वेला मलाई डेबिड कार्ड प्रयोग गर्नेहरूका हात चटकीका जादु देखाउने तिलस्मी हातझैँ लाग्छन् ।

प्रिय काठमाण्डौं, मैले छोडेदेखि अचेल त तिमी निक्कै फेरीएकी छ्यौ अरे त ! असनको गल्लीमा डुल्ने हजारौँ मीठामीठा अनुहारहरू भावनाशून्य भएर चलायमान मात्र देखिन्छन् अरे । साँच्चै के ले खोस्दैछ ती ओठका आवारा मुस्कानहरूलाई रु केले उडाइ दिँदैछ आँखाका ती अबोध चमकहरूलाई रु मान्छे किन भीडमा पनि नितान्त एक्लो बन्दैछ । किन संवेदनाहीन हुँदैछन् तिम्रा आँगनमा डुल्ने पाहुनाहरू रु कसले हृदय निकालेर निश्पृह यन्त्र राखी दियो मानिसको छाती भित्र रु कहाँ हरायो तिम्रो चपलता रु तिम्रो बोलाईमा पनि स्वार्थको कुहिगन्ध आउन थालेको छ अरे । परदेशको जिन्दगी त यान्त्रिक हुन्छ भनेर तिमीले नबुझेका होइनौ तर सन्चो बिसन्चोको एउटा औपचारिकताका शब्दहरूलाई पनि तिमीले आफ्नो शब्दकोषमा जसोतसो मात्र ठाउँ दिएका छौ अरे । के अब तिम्रो र मेरो सम्बन्ध र आत्मियता केवल सपिङ लिस्टमा मात्र सीमित भएको हो त रु तिम्रो कुराकानी केवल यहाँका मलहरुमा गुञ्जिने विलासी महंगा ब्राण्डेड सामानका चाहनाको गनगन मात्र हुन त रु मान्छे एक्लिदा त्यसका अन्तरआत्मा कति कमजोर हुन्छ भनेर तिमीले बुझेका छौ रु यन्त्रवत जीवनलाई चलाई रहँदा तिम्रा सबै फुर्माइसका ध्वनीहरू पराध्वनीत भएर मेरो एकलासे अपार्टमेन्टमा ठोक्किदा पीडाहरूका सुनामी आँखाबाट त्यसै त्यसै छचल्किन्छन् । मसान्तमा हातले केलाउने पैसाका निधारमा म आफैलाई निचोरेर तिम्रा छाकल टार्ने र लाज छोप्ने मन्त्र बाहेक अरू केही लेखेर पठाउन सक्दिन । मलाई उदेक लाग्दैछ काठमाण्डौँ, के तिमी पनि रेमिट्यान्सको परजीवी भई सक्यौ र ! परजीवीको आफ्नै मृत्यु त हुँदैन काठमाण्डौँ ।

प्रिय काठमाण्डौ, मेरो बिन्ती सुनेर मलाई बुझिदिने कोशिश त गर । म त मान्छे पो हुँ, संवेदनाहीन पत्थर त होइन नि ! हिजोसम्म सोचेकी थिएँ, तिमीलाई मेरो दुख किन बिझाउँ भनेर । तर अब तिमीले बुझ्नै पर्छ काठमाण्डौँ, खण्डहर बन्दै गरेका मेरा जीवनका प्रतेक दिनहरूलाई । छैन, यहाँ कुनै हरिया डाँडा पनि छैन र सुस्ताउने कुनै चौतारी पनि छैन । यहाँ हरेक पूर्णिमामा व्रत बस्न सकिन्न, घन्टौं एक्लै आफ्नो कोठाको झ्यालबाट सकुन्जेल र देखिन्जेल चुपचाप जुन नियाली बस्न मात्र सकिन्छ । योसेफताल स्ट्रीटबाट भूमध्यसागर बिस मिनेटको पैदल दुरिमा छ, जहाँ म अकसर पुगिरहेकि हुन्छु । समुन्द्रको तटमा बसेर क्षितिज नियाल्दै गर्दाको समय मनसागरमा ज्वारभाटा चल्न सुरु हुन्छ । त्यसले मच्चाउने उथलपुथलको भनकसम्म पनि काठमाडौ पुग्ला भनेर म निक्कै सचेत हुन्छु । चिसोले गाँजेको बेला पानी तताइ दिने हातको अभावमा रोईरहदा या बातयाममा बेलाबेलामा थला परेर मन कुँडिएको गुनासो आफैलाई बाहेक अरूलाई सुनाउन सकिन्न । यी यावत कुराहरूले मनको अशान्त एक्लो सागरमा शैवालहरू बढेर उकुसमुकुस बढ्न थालेपछी सम्झिरहने काठमाडौ पनि बिर्सिउँ बिर्सिउँ जस्तो मन हुन्छ । गर्न त यो मन धेरै याद गर्छ मेरो आफ्नै घरलाई, आफ्नो ओछ्यानको न्यानोपनलाई र तिमीलाई पनि काठमाण्डौँ, तर तिमीले पनि त एक झल्को मेरो मनको एकांकीपन बुझिदिने कोशिश गरेको भए हुन्थ्यो नि ! हैन र ?

अब त एकलासे भएर बस्ने बानी परेछ काठमाण्डौ । खोइ किन हो हिजोआज बिर्सिदै गइरहेको मेरो आफ्नै भान्छाको मीठास, चाडबाडको रमझम, भीड्भाडको प्यारो होहल्ला र आफन्तको भेटघाटको न्यानो सबै दन्त्यकथा जस्ता लाग्न थालेका छन् । हजारौ माइल पर आएर जिन्दगीलाई आफैले बन्धक बनाए छु जस्तो पनि लाग्छ । तर, एउटा स्वतन्त्र परिवेशको आदी भैसकेको मेरो मन मस्तिष्क केवल के आफ्नो लागि मात्र बाँच्न चाहान्छ अब रु काठमाण्डौँ, अचेल यस्ता अनेकन प्रश्नहरुका माकुरे जालोमा जिन्दगी किन रुमल्लिदै छ, म आफैले भेउ पाउन सकेकी छैन ।

प्रिय काठमाण्डौँ, तिमी त दसैँको छनकमा नाच्न थालिसकेकी हौली । मेरो गुनासोसँग तिम्रो खुसीको के सरोकार होला र । पहिलो तारिखको पैसा पठाएको खबर मात्र कान थाप्ने तिमीलाई मेरा यी खण्डहर भोगाइका गाथाले बित्थैँमा तितो बनाइँ दिएँ । त्यताको दसैँको मनतातोले यहाँ पनि मधुर रोमाञ्च नल्याएको त हैन । मन भन्छ, केही मौनताहरूले सम्झेका होलान्, माया गरेर हाल खबर सोधेका होलान्, तर खै मेरो मन बुझेको तिमीले, मेरो आफ्नै भएर पनि काठमाडौ ? यतिखेर भूमध्यसागर आफ्नै धुनमा व्यस्त र मस्त छ, सप्तान्त मनाउदैछ, र म बातयामको उही नितान्त एक्लो अपार्टमेन्टको बोझिलो कोठामा आफैसित दसैँ मनाउँ भन्दैछु । मन बलियो भएमा केही हरिया जमरा मेरा कवितालाई लगाइ दिनेछु र राता अक्षताले अनुभूति र पीडालाई रंग्याउने बिचार गरेकी छु ।

प्रिय काठमाडौ, तिम्रो जवाफ पाए यो भूमध्यसागरको बातयामले, मेरो एक्लो अपार्टमेन्टको एकान्तले दसैँमा साथी पाउने थियो ।

हाल : बातयाम इजरायल

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =