खसमकाे बाटाे कुर्दा-कुर्दै वर्ष बित्यो, थाकेकी छैनन् मैया

ram-bdr-tamang-1000x0मैया तामाङ बेडमा आराम गरिरहेकी थिइन् । उनकी दाई सुकुमान तामाङ कोठाभित्र प्रवेश गरेपछि बिस्तारै उठिन् । दाईलाई ढोग गरिन् । फेरी बेडमै गएर बसिन् । ‘मेरो ढाडले काम देला जस्तो छैन,’ उनले भनिन्, ‘एकदमै दुख्छ । घुँडा पनि दुख्न थालेको छ । अहिले त कामै गर्न सकेको छैनँ ।’

दुई वर्षअघि वनस्थली, काठमाडौंमा काम गर्न निस्केको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल भागिहाल्यो । समात्न सकिएन । सामान्य घाइते भएकोले तुरुन्त अस्पताल जानुपरेन । बिस्तारै दुखाई बढ्दै गएपछि अस्पतालमा देखाउन पुगिन् उनी । डाक्टरले एक्सरे देखाउँदै भने, ‘ढाडको हड्डी थोरै बांगिएछ ।’ ‘डाक्टरले अप्रेशन गर्नुपर्छ भन्दै थियो । मैले मानिनँ । फेरी त्यत्रो पैसा कहाँबाट जुटाउने ?,’ उनले भनिन्, ‘तलमाथि केही भइहाले यी नानीहरुको हालत के होला ?’

उनी अरुको घरमा काम गरेर आफू र दुई छोरीहरुको लालनपालन गरिरहेकी छिन् । अप्रेशन गरेपछि झन अवस्था बिग्रिएला की भन्ने चिन्ता उनलाई छ ।   ‘ठूली भान्जी खै त ?,’ सुकुमानले सोधे । ठूली छोरी १७ वर्षकी भइन् । यो वर्षबाट कलेज जान थालेकी छन् ।   ‘कलेजबाट आउने बेला त भइसक्यो । खै आज किन ढिला गरिन्,’ उनले ठूली छोरीलाई फोन लगाउँदै भनिन्, ‘मामा आउनु भएको छ । छिट्टो आइज ।’ … ‘ज्वाईँले फोन गर्नुभएको छ त ?’ ‘शनिबार गर्नुभएको थियो । मिलेसम्म हरेक शनिबार गर्नुहुन्छ । लुकेर फोन गर्नुपर्छ रे,’ भनिन्, ‘अहिले मन्त्री को छ भनेर सोध्दै हुनुहुन्थ्यो ।’ मैयाका ४९ वर्षीय श्रीमान् रामबहादुर तामाङ साउदी अरबको जेद्दास्थित जेलमा ७ वर्षदेखि थुनामा छन् । तामाङलाई ज्यान मुद्दामा लगेको थियो । उनी साउदी आरम्कोमा लेवरको काम गर्थे । पहिलो पटक दुई वर्ष ६ महिना काम गरेपछि बिदामा आएका थिए । दुई महिना बसेपछि सात वर्षअघि फेरि काम गर्न साउदी उडेका रामबहादुर अझै फर्कन पाएका छैनन् । ‘हामीलाई त कसरी जेल पर्‍यो भन्ने पनि थाहा थिएन,’ दाईतिर हेर्दै मैयाँले सोधिन्, ‘तपाईलाई भन्नुभएको थियो त ?’ ‘प्रहरीले पक्राउ गरेको पहिलो महिना फोन गर्नुभएको थियो,’ उनले भने, ‘मलाई सबै ठीक छ भन्नुहुन्थ्यो । हामीले कम्पनीमै काम गरिराख्नुभएकै होला भन्ने सोच्यौं । ठीकै पनि होला भन्ने लाग्यो ।’ सधै फोन गरिराख्ने रामबहादुर तीन महिना जसो सम्पर्कबिहीन भए । एकाएक सम्पर्कबिहीन भएपछि मैयाको मन कहाँ थामिन्थ्यो र ? उनलाई निकै मन पोल्न थाल्यो । अनेक तर्कना  खेल्न थाल्यो । तीन महिनापछि फोन आएपछि उनले केरकार गर्न थालेपछि बल्ल रामबहादुरले बास्तविक कुरा खोले, ‘हामीलाई मान्छे मारेको अभियोगमा समातेर जेलमा राखेको छ । ११ जना नेपाली छौं । हामीले त्यो काम गरेको होइन । मर्ने मान्छेलाई हामीले चिनेको पनि छैनौं ।’ त्यो सुनेपछि उनलाई छाँगोबाट खसे जस्तो भयो । ‘चिन्ता नगर । हामी छुट्नेछौं,’ रामबहादुरले यसरी नै सम्झाएका थिए । दोस्रोपटक साउदी गएको तीन महिनामै रामबहनदुर र उनका साथीहरुले तलव थोरै भएको भन्दै कम्पनी छाडेका थिए ।

काम नभएपछि गैरकानुनी कामदार पुग्ने  ठाउँको साउदीको जेद्दा पुल । कति भेटघाट गर्न त कति काम खोज्न पुग्छन् त्यहाँ । कति घरफिर्तीको लागि प्रहरीबाट समातिनका लागि पुग्छन् । उनीहरु पनि त्यही पुगे काम खोज्न । त्यहिँ उनीहरुलाई प्रहरीले समाते । ‘अब घर पठाउने भयो भन्न लाग्यो,’ रामबहादुरले एक भेटमा संवाददातासँग भनेका थिए । तर, कुरा अन्तै मोडियो, प्रहरीकोमा छुट्टै ढंगले केरकार सुरु भयो । बल्ल उनीहरुले थाहा पाए, आफूहरु बसेकै घरमा एक भारतीय कामदार मारिएका रहेछन् । त्यही अरु भारतीयले नेपालीबाट हुनसक्ने भन्ने पोल लगाइदिएपछि समातेका छन् ।   एउटै कोठामा बस्ने सबै (१६ जना नेपाली) लाई पक्राउ गरी हत्याको अभियोग लगायो । आफूहरु ‘निर्दोष’ भएकोले उनीहरु छिट्टै छुटिहाल्नेमा ढुक्क थिए ।

मैया बारम्बार रामबहादुरलाई सोधि राख्छिन्, ‘तपाईहरुलाई निकाल्न कतै जानुपर्छ होला । त्यहाँ कता कताका मान्छे छन् । उनीहरुका मान्छेसँग भेट गर्नुपर्‍यो । निकाल्न मान्छे लगाउनु पर्‍यो ।’ रामबहादुरको सधै उही जवाफ हुन्थ्यो, ‘चिन्ता नगर । हामी छिट्टै आउनेछौं । मान्छे लगाउने काम गर्‍यो भने उल्टो हामीलाई अप्ठ्यारो पर्न सक्छ । तिमीहरु चिन्ता नलेऊ ।’ सबैले परिवारलाई त्यही आशा देखाइरहेका छन् । तर, दिन बित्यो, महिना वित्यो, वर्ष बित्यो । सात वर्ष भयो, अझै त्यही छन् ।    … उहाँको फोटो छ त ? दराजमा राखिएको एउटा एल्बम निकालिन् । त्यसमा रामबहादुरको ५ वटा मात्रै फोटा छन् । ‘पहिलो पटक साउदीबाट फर्केको बेलामा ल्याउनुभएको हो,’ उनले एल्बम पल्टाउन थालिन् । पातलो ज्यान, होचो कद भएका रामबहादुरले सेतो टिर्सट लगाएर ‘साउदी आरम्को’ को अगाडि खिचेको एउटा तस्बिर छ । साउदी आरम्कोमा १५ हजार भन्दा बढी नेपाली काम गर्छन् । धेरै नेपालीलाई रोजगार दिनेमा यो कम्पनी पर्छ । उसले नेपालीको रेट ७ सय रियाल राखेको थियो । यो तलब ज्यादै न्युन भएकोले यसमा पुगेका धेरै नेपाली कम्पनी छाडेर भाग्थे ।

यो कम्पनीमा कामदार पठाउने म्यानपावरहरु तलब बढाउने विषयमा कहिल्यै कुरा गर्दैनन् । धेरै नेपाली पठाउन पाउने भएकाले उनीहरु सरकारले तोकेको तलव दिलाउने भन्दा कम्पनीले चाहेको तलबमा काम गर्न भनेर पठाउँछन् । भएका बाँकी एउटा फोटोमा रामबहादुर ओछ्यानमा सुतिरहेका छन् । बिबाह गरेको १८ वर्ष पुगेको यो जोडीको फोटो एल्बममा थिएन । दुई छोरी र आमा बसेका फोटाहरु पनि थुप्रै छन्, त्यहाँ बाबा देखिंदैन । तपाईहरुसँगै बसेको त कतै छैन नी ? ‘हामी काठमाडौंमा हुँदा सँगै कहिल्यै हिड्नै पाएनौं,’ मैया भन्छिन्, ‘सधै काम नै काम । अहिलेजस्तो पहिला फोटाहरु खिच्ने चलन थिएन । फोटो नै खिच्न भनेर हामी गएनौं ।’ भागी बिबाह गरेका थिए । जिलिङ-५, नुवाकोटको गाँउबाट बिबाह गरेर काठमाडौं आए पछि फर्केर गाँउ जानुपरेन । ‘अहिले पनि यस्तै हुनुहुन्छ होला त ? क्याम्पको कोठामा उभिएरको एउटा खाइलाग्दो शरीर भएको फोटो देखाउदै उनले सोधिन,‘जेलभित्र त छ ।

कति दुख पाएको होला । के होला र यस्तो ?’   उनले एल्बमलाई पहिलाकै ठाँउमा लगेर राखिन् । ‘हामीलाई पो चिन्ता गर्छन् भनेर नभनेको होला ,’ उनले भनिन्, ‘बेकारमा भित्र परेको छ । त्यहाँ भित्र पनि कहिलेकाँही सिजनमा काम गर्नुहुन्छ रे । त्यसमा कमाएको पैसा कहिले काँही पठाइदिनुहुन्छ ।’ ‘अहिले पनि पठाएका छन् त ?,’ सुकुमानले सोधे । ‘छैन नी दाई । धेरै भयो । छोरीलाई भर्ना गर्ने बेला छ भने पठाइदिनुस् भनेको थिएँ । उहाँले पैसा त छ तर पठाइदिने मान्छे छैन भन्दै हुनुहुन्थ्यो । पहिला एक जना नेपाली भाई थियो । उसैले पठाइदिन्थ्यो । ऊ अहिले दुबई गयो रे । त्यसपछि पठाउन सहयोग गरिदिने कोही छैन भन्दै हुनुहुन्थ्यो ।’ … वनस्थलीमा एउटा कोठा लिएर बसेका छन्, मैया र दुई छोरी । टिनको छाना मुनी बसेका छन् । कोठाको भाडा ४ हजार तिर्नु पर्छ । जेठी छोरीले ६ देखि १० सम्म निशुल्क पढ्न पाइन् । कान्छी छोरीलाई पनि एक जना सरले पढाइ दिन्छु भनेपछि उनलाई राहत मिलेको छ । ‘११ कक्षामा ४० हजार लाग्छ भन्दै थिए । भर्ना गर्न १० हजार रुपैयाँ मात्रै बुझाएकी छु । अरु सकेको छैन्,’ उनले भनिन्, ‘कलेजलाई मिलेसम्म हेरिदिनुस् भनेको छु ।

के गर्छन् ?’ घरको काम गर्दा आउने पैसाले दैनिक जीवनयापन चलाएकी छिन् उनले। पीरै पीरमा हिँड्नु परेको छैन् । ‘एकदमै जोगाएर खर्च गर्दा पनि १३/१४ हजार त लाग्छ नै,’ उनले भनिन्, ‘छोरीलाई त सुखैमा राखेको छु ।’    उनको ढाडले पहिलाजस्तो साथ नदिएपछि नुवाकोटमा रहेका सासुसुरालाई भेट्न गएकी छैनन् । ‘कहिलेकाहिँ दिदी आउनुहुन्छ,’ उनले भनिन्, ‘पहिला त बिरामी भएको बेला जान्थें । अहिले त्यो पनि बन्द भयो ।’ रामबहादुर एक्ला छोरा थिए । जो खाडीको जेलमा भएपछि उनीहरु सार्‍है तनावमा छन् । भूकम्पले घर लगेपछि उनीहरुको बास टहरामा भयो । श्रीमान् जेलमा परेकै ७ वर्ष भइसक्यो । धेरैले उनलाई ‘यति धेरै बस्न नपर्ने थियो ।

किन बस्या हो ?’ भनेर सुनाउँछन् । मैयाले सोध्ने रामबहादुरलाई नै हो । छोरीहरु पनि फोन गर्दा सोध्ने गर्छन्, ‘बाबा कहिले आउने हो ?’ रामबहादुरले जवाफ दिने गर्छन्, ‘म बनस्थली चोकमा आइपुगिसकेको छु त ! अब छिट्टै आउने हो ।’   छोरीहरु हरेक फोनमा यही शब्द सुनेरै हुर्किसके । ‘चुप चुपमै दिन बित्यो । न मान्छे  आए । न पैसो नै आयो,’ उनले भनिन्, ‘कहिलेकाहिँ लाग्छ पहिलादेखि ठाँउमा भन्न गएको भए केही हुन्थ्यो की ।’ श्रीमान् जेलमा भएपनि उनले सारा पीर, तनावलाई बिछ्याएर राखिदिएकी थिइन् । छोरीहरुलाई त्यसको झिल्को देखाएकी छैन् । ‘मैले कहिल्यै हार मानेको छैन् । छोरीहरुलाई त जसरी पनि पाल्छु,’ उनले भनिन्, ‘ आउनुहुन्छ नै भनेर आशा गरेर बसेको छौं ।’ … त्यसो त रामबहादुरले यतिका वर्ष जेल बस्न पर्ने नै होइन । साउदी अदालतले उनी र उनका साथीहरुलाई दुईदेखि पाँच वर्षको जेल सजाय तोकेको थियो ।   रामबहादुरले साजय भुक्तान गरेर पनि दुई वर्ष बढी जेलमा बसि सके । तैपनि उनले छुटकारा पाएको छैन । यसो हुनुको कारण अदालतको फैसला जेलसम्म नपुग्नु हो । सुरुमा केही पहलै नहुँदा कसैले चासो लिएन । अहिले जेद्दास्थित महावाणिज्य दूतावासले फैसलाको कपि सरकारी अड्डामा खोजिरहेको छ । महावाणिज्य दूतावासका कर्मचारी भन्छन्, ‘गभर्नरको कार्यालयबाट जेल पठाएको छ भनेपनि जेलले भने कपि नपाएको भन्छ, हामी त्यही खोजिरहेका छौं ।’

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =