महिला सो पिस र मनोराजनका साधन होइनन् पुरुषका अर्धांगिनी हुन् त्यसकारण हरेक विषयमा उनीहरुको स्वतः आधा अधिकार लाग्छ समाजले पनि त्यस्तै व्यवहार गर्नुपर्र्यो । महिलालाई दिइएको सुविधा उसका लागि मात्र होइन पूरा परिवारका लागि हो । परिवार बने समाज बन्छ समाज बने गाउँ र देश बन्छ । कथित बुद्धिजीवीले महिलाप्रति गरेको व्यवहारले महिलामात्र संलग्न सशक्त पार्टी खोल्न उनलाई पे्ररित गर्र्यो । उनै पद्मिनी प्राधानांगसँग कुमार राउतले गरेको कुराकानी-
० महिला पार्टी केका लागि नि ?
- राजनीतिक दलले महिलालाई धेरै झुक्याए । उनीहरुले महिला अधिकार र समानताका लागि केही गरेनन् । यो विभेद आउने पुस्ताले बेहोर्नु नपरोस् भन्नका लागि हामीले महिला सशक्ति पार्टी निर्माण गरेका हौं ।
० कस्ता विभेद छन् समाजमा ?
- सबै किसिमका । तुलनात्मक रुपमा पहिलेभन्दा विस्तारै कम हुँदै गएका छन् । तर त्यो कानुनी रुपमा मात्र हो व्यवहारमा लागू भएको छैन ।
० कसरी व्यवहारमा लागू हुन्छ ?
- आरक्षण होइन समान रुपमा राजनीतिक दलले महिलालाई व्यवहार गर्नुपर्र्यो । राजनीतिक दलले त आपुनो घोषणापत्रमा उल्लेख गरेको कुरा पनि पूरा गरेका छैनन् ।
० संविधानमा के लेखियो भने विभेद अन्त्य हुन्छ ?
- लैंगिक विभेद हुने कानुन स्वतः रद्द हुनुपर्छ । पुरुष र महिलाका लागि बेग्लाबेग्लै कानुन हुनुहुँदैन । मानव जाति सबै बराबर हुन् ।
० यसका लागि त अहिलेको कानुन पर्याप्त छैन र ?
- एक्काइसौं शताब्दीअनुकूल छैन ।
० कस्तो हुनुपर्छ ?
- अहिले पनि महिलालाई सोपिस र भोग्यवस्तुका रुपमा हेरिन्छ । कानुन कार्यान्वयन गर्ने व्यक्तिको मानसिकतामा भरपर्नु परेको अवस्था छ । नीति बनाउने ठाउँमा ५० प्रतिशत महिला हुनु अनिवार्य छ ।
० यसका लागि तपाईंको पार्टीले के गर्यो ?
- संविधानसभामा महिलाले अधिकार खोज्ने बेला हो यो । त्यसकारण विभेद अन्त्य गर्न हामी काम गरिरहेका छौं । त्यसका लागि सकि्रयतापूर्वक संविधानसभाको चुनावमा हामीले भाग लियौं ।
० तपाई उम्मेदवार बन्नुभएन ?
- समानुपातिकमा थिएँ । मोरङ सप्तरी ललितपुर र काठमाडौंबाट सातजना उम्मेदवार हामीले उठाएका थियौं ।
० तपाईंको पार्टीलाई जनताले के भने ?
- चुनाव निष्पक्ष भएन । भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन सकेन । भयकै कारण हाम्रा उम्मेदवारले नाम फिर्ता लिनुपर्ने अवस्थासमेत सिर्जना भयो ।
० कति मत ल्याउनुभयो ?
- त्यस्तै चारपाँच हजार ।
० विभेद अन्त्यका लागि यो संविधानले सम्बोधन गर्यो भने तपाईंको पार्टीको औचित्य समाप्त हुने रहेछ होइन ?
- होइन सम्बोधन भएरमात्र हुँदैन कार्यान्वयन हुन जरुरी छ । जस्तो कांगे्रस पार्टी प्रजातन्त्रका लागि लडेको हो । प्रजातन्त्रपछि उसको औचित्य समाप्त भयो त
० अधिकारको दुरुपयोग गर्ने महिलाहरु पनि छन् होइन ?
- छैनन् भन्न सकिँदैन छन् । कूल जनसंख्याको १० प्रतिशत होलान् । तर ती १० प्रतिशतका लागि ९० प्रतिशतलाई सहिद बनाउन मिल्दैन ।
० अधिकार दुरुपयोग गर्नेलाई के भन्नुहुन्छ ?
- सक्षम र शिक्षित महिला भए त्यस्ता घटना हुँदैनन् । विवेकशील नारीले त्यस्तो हर्कत गर्दैनन् । यस्तो हुनुमा पनि पुरुष नै दोषी छन् । शोषण गर्न नपाउने भयका कारण पुरुषले महिलालाई सक्षम र शिक्षित बनाउन चाहँदैनन् ।
अधिकारवादी महिलाको दाम्पत्य जीवन त असफल भएको उदाहरण छ नि ?
- यहाँ औंलामा गन्न सकिन्छ अथवा केही गुनेचुनेका पुरुषमात्र छन् जो महिलाको प्रगति चाहन्छन् । श्रीमतीको प्रगति देख्न चाहने थोरैमात्र पुरुष छन् । श्रीमती विरामी भई उसलाई एक गिलास तातोपानी तताएर दिनुपर्र्यो भने आपुलाई जोईटंग्रे ठान्ने पुरुषको जमात यहाँ ठूलो छ ।
० कुन वर्गमा यो समस्या बढी छ ?
- उच्च र तल्लोवर्गमा यो समस्या छैन । मध्यमवर्गमा बढी छ । उच्च वर्गमा चेतना र तल्लो वर्गमा पुरुषले पनि काम गर्नुपर्ने भएकाले यस्तो समस्या छैन ।
० महिलाविरुद्ध कस्ता कस्ता हिंसा हँदा रहेछन् ?
- महिलाहरु असुरक्षित छन् जसका कारण उनीहरुले आत्मबल गुमाइरहेको अवस्था छ । यहाँ आपुनै सहकर्मीबाट बलात्कृत हुने अवस्था छ अरु के भन्ने ?
होला तर उनकै गल्ती छ भन्छन् नि ?
० सुन्तली धामीको कुरो गर्नुभएको
- यहाँ महिलालाई बात लगाउन सजिलो छ । तर समस्याको जडमा पुग्न कोही चाहँदैन ।
० त्यही सजिलो उपाय महिलाले पनि दुरुपयोग गर्छन् नि ?
- शिक्षा र चेतनाको अभावमा त्यस्तो हुनसक्छ । तर त्यो अभावको परिपूर्ति गराउन पुरुष चाहँदैन । किनभने त्यो अभावको पूर्ति भयो भने पुरुषले महिलालाई उपयोग र दुरुपयोग गर्न पाउँदैन ।
० व्यक्तिगत कुरो सोधौं ?
- सोध्नुहोस् ।
० नाम कसले राखिदियो ?
- जन्मँदाको साइत हेराएर जुरेको नाम हो । जुरेको शब्दलाई मिलाएर दिदीले राखिदिनुभएको हो ।
० कति दिदी-बहिनी ?
- आठ दिदी-बहिनी एक भाइ ।
० दिदी-बहिनी धेरै हुनुहँुदो रहेछ सबैले पढ्न पाउनुभयो त ?
- जेठी दिदीले आईएसम्मको अध्ययन गर्नुभयो । शिक्षिका हुनुहुन्थ्यो । उहाँको जन्म भएपछि घरको आर्थिक समृद्धि भएकाले घरले उनको विवाह गरिदिएन ।
० यो भनेको के हो ?
- उनको जन्म भएपछि घरमा फलिफापमात्र भयो त्यसैले उनलाई विवाह गरेर जान दिइएन ।
० अन्य दिदी-बहिनी ?
- ठिकै हो । अरु दिदी-बहिनीको अवस्था देखेपछि मैले आपुूलाई सक्षम बनाउनुपर्छ भन्ने सोचकाले विकास भयो ।
० अवस्था कस्तो थियो ?
- रुढीवादी संस्कारभन्दा माथि उठ्न चेतनशील हुनुपर्छ भन्ने उद्देश्यले मैले पढाइ पूरा गरेपछि मात्र विवाह गर्ने सोच बनाएँ ।
० कति अध्ययन गर्नुभयो ?
- गृहविज्ञानमा स्नातकोत्तर छु ।
० प्रेम विवाह हो ?
- अन्तरजातीय भए पनि मागी विवाह हो ।
० कसरी सम्भव भयो ?
- केटो जातिको होइन असल भए पुग्छ भन्ने मेरो निष्कर्ष थियो ।
० कोसँग विवाह भयो ?
- धनकुटाको महेश बस्नेतसँग ।
० के हुनुहुन्थ्यो त्यसबेला उहाँ ?
- घरेलु तथा साना उद्योगमा शाखा अधिकृत ।
० उहाँको घर पुग्नुभएको छ ?
- धनकुटा दुईतीनपटक पुगें । तर उहाँको पुख्र्यौली घर पुगेकी छैन ।
० किन नि ?
- पहिला जान सक्दिनँ भनेर लानु भएन अहिले फुस्रद छैन । धनकुटामा हाम्रो घर भीरगाउँमा छ ।
० अन्तरजातीय विवाह पनि बाजा बजाएरै भयो त ?
- बकाइदा । हामीले हाम्रो संस्कारअनुसार विवाह गरेका हौं । मसँग अरु विकल्प पनि थिएन ।
० छोराछोरी नि ?
- एक छोरा एक छोरी हुन् । उनीहरु यतिबेला अमेरिकामा उच्चशिक्षा हासिल गरिरहेका छन् ।
० कहिलेकाहीँ घर झगडा पनि पर्दो हो नि ?
- त्यसलाई झगडा नभन्नुहोस् डिस्कस भन्नुपर्छ । श्रीमान् श्रीमतीको झगडा फिल्ममा मात्र हुँदैन । संसारमा लैला-मजनुको विवाह भएको भए पनि डिस्कस हुन्थ्यो । आगो ठोसेपछि नै बल्छ ।
० खाना कसले बनाउँछ नि ?
- म आफै गृहविज्ञानकी विद्यार्थी हुँ । त्योभन्दा पनि परिवारको स्वास्थ्य मेरो जिम्मेवारी हो । कसरी क्यालोरीयुक्त खाना बनाउनुपर्छ त्यो कुरा मैले अध्ययन र अभ्यासबाट जानेकी छु ।
० श्रीमान्बाट महिला के चाहन्छन् ?
- स-सानो कुरामा खुसी । संसारको आनन्द र सन्तुष्टि श्रीमान्बाटै प्राप्त होस् ।
० श्रीमान्ले पिउनु पनि हुन्छ ?
- चुरोट र रक्सी पिउनेसँग म बस्न सक्दिनँ । पैसा भएका बुद्धि नभएकाले मात्र यस्तो काम गर्छन् । सचेत श्रीमतीले जहिले धनीभन्दा पनि असल श्रीमान् होस् भन्ने चाहना राख्छिन् ।
० तपाईंको फेबराइट डिक्स नि ?
- धेरै परिकार पकाउन जानेकी छु । तर चिकेन रोस्ट म साँच्चै मीठो पकाउँछु ।
० श्रीमान् श्रीमतीबीच के कुरो सत्य हो ?
- पुरुषको सफलतामा महिलाको ठूलो योगदान हुन्छ । त्यसैले महिलालाई विभेद गर्ने पुरुष कहिले सफल हुँदैन ।
साभार -ब्रिटेन नेपाल डट. कम