सरकार फेरबदलको खेलः ओलीले प्रधानमन्त्री बन्न रविलाई गरे प्रस्ताव

काठमाडौं । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरी सरकार फेरबदलको खेल सुरु भएको छ । संविधान जारी भएपछि राजनीतिक स्थयित्व आउँने ठानिए पनि राजनीतिक दलहरु भने सत्ताकै खेलको पछाडी दौडिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जसरी पनि ढाल्ने रणनीतिमा लागेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् ।

एमाले, रास्वपा, जसपा, जनमत सहितका दलहरुको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत ११ पुसमा प्रधानमन्त्रीको सपथ लिएका थिए । तर अहिले एमालेसंगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहितका दलहरुसंग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ ।

सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ । सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।

एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग यस बिषयमा छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसंग असन्तुष्ट छ । एमाले, रास्वपा, जनमत, जसपा सहितका दलहरुसंग मिलेर नयाँ गठबन्धन बनाउँने र सरकारको नेतृत्व गर्ने बारेमा लामिछाने छलफल अगाडी बढाएका हुन् ।

रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले एमालेबाट आएको प्रस्ताव अनुसार अन्य दलहरुसंग छलफल भईरहेको बताए । अहिले नै अन्तिम निष्कर्षमा पुगिनसकेको बताउँदै उनले थप निर्णय पार्टीको बैठकबाट नै हुने बताए ।

‘राजनीतिमा जे पनि हुनसक्छ, सम्भावनाको खेल न हो । तर एमालेले गरेको प्रस्ताव कतिको विस्वास गर्न सकिन्छ हेरौंन । छलफल भईरहेको छ, अन्तिम निर्णय त पार्टी केन्द्रीय समितिले गरे अनुसार नै हुने हो’ अर्यालले  भने ।

रास्वपा सभापति लामिछानेले जनमत पार्टीका अध्यक्ष डा. राउतसंग भेटिसकेपछि अब जसपा अध्यक्ष उपेन्द्र यादवसंग भेटने प्रयासमा छन् । तर उनीहरुका बीचमा भेटघाटको समय तालिका मिलिसकेको छैन् ।

जनमत पार्टीका नेता विपि साहले दुई नेताका बीचमा पछिल्लो राजनीतिक अवस्था, सरकार लगायतका बिषयमा छलफल भएको बताए । जनमत पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने की नहुने, दिएको समर्थन फिर्ता लिने की के गर्ने ? लगायतका बिषयमा छलफल भएको साहले बताए ।

‘पछिल्लो राजनीतिक अवस्था, सरकार गठन लगायतको बिषयमा छलफल भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने की नहुने ? सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने लगायतका बिषयमा छलफल भयो’ जनमतका नेता साहले भने ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि समर्थन जुटाउने दौडमा रास्वपा सभापति लामिछाने लागेका हुन् । तर एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आफूलाई यस बारेमा बढी कुरा थाहा नभएको बताए । ‘अहिले म बाहिर छु, यस बारेमा मलाई बढी कुरा थाहा भएन्’ प्रवक्ता गुरुङले भने ।

प्रचण्ड नेतृत्वको सरकारमा यस अघि रास्वपा सहभागि थियो । रास्वपा सभापति उपप्रधानमन्त्री सहित गृह मन्त्रालयको जिम्मेवारीमा थिए । तर नागरिकत्ता बिषयमा सर्वोच्चको निर्णयपछि उनको सांसद पद निलम्बनमा परेको थियो । १० बैशाखको उपनिर्वाचनबाट लामिछाने फेरी सांसद निर्वाचित भएर पार्टीको संसदीय दलको नेता चयन भईसकेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको रास्वपाले सरकारमा सहभागि हुने की नहुने भन्ने बारेमा अहिले पार्टीभित्र आन्तरिक रुपमा छलफल गरिरहेको छ । यस अघि पाएको मन्त्रालयहरु पाउँने, सरकारको न्यूनतम साझा कार्यक्रम पुर्नलेखन भए सरकारमा सहभागि हुने रास्वपाको अडान छ । रास्वपाको अडानमा प्रधानमन्त्री प्रचण्ड समेत सहमत छन् ।

आउँदो शुक्रबार बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने की नहुने, समर्थन फिर्ता लिने की नलिने भन्ने निर्णय हुदैछ । यसबीचमा प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेका बीचमा छलफल समेत भएको छ ।

गत सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड आफूहरुले राखेको मागमा सहमत भएको व्रिफ्रिङ गरेका थिए ।

१० पुसमा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो । उपप्रधान तथा गृहमन्त्री बनेर सभापति लामिछाने मन्त्रिपरिषदमा सहभागि थिए । नागरिकतालाई लिएर सांसदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्चले गत १३ माघमा फैसला गरेपछि लामिछाने गृहमन्त्रीबाट बाहिरिएका थिए । रास्वपाका अन्य सांसदले २२ माघमा राजीनामा बुझाएर बाहिरिएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->