प्रचण्ड र नेपालको सम्बन्ध विग्रदै : ओझेलमा ‘समाजवादी मोर्चा’

काठमाडौं । बलियो कम्युनिष्ट पार्टी बनाउँने रणनीतिसहित बिभिन्न पार्टीहरुका बीचमा ‘समाजवादी मोर्चा’ बनाउँने कसरत भएको छ । तर समाजवादी मोर्चा बनाउँने कसरतमा जुटेका शीर्ष नेताका बीचको आन्तरिक सम्बन्धन सत्रुतापूर्ण बन्दै गईरहेको छ ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा) सहितका दलहरुका बीचमा समाजवादी मोर्चा बनाउँने कसरत भएको हो ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वउपप्रधामन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका बीचमा समाजवादी मोर्चा बनाउँने छलफल भएको थियो ।

तर प्रचण्ड र नेपाल, प्रचण्ड र डा. भट्टराईको पछिल्लो सम्बन्ध कटुतामा परिणत भएकाले घोषणा गर्ने भनिएको समाजवादी मोर्चा ओझेलमा परेको छ । डा. भट्टराई र यादव बीचको सम्बन्धन पनि सौहार्दपूर्ण छैन् । भट्टराई र यादव केही समय अघि सम्म एउटै पार्टीमा थिए । अहिले दुबैजना छुटिएका छन् । छुटनुअघि एकअर्काको आलोचना नगर्ने सहमती सहित पार्टी विभाजन गरेका ति दुवै नेताका बीचमा अहिले सार्वजनिक कार्यक्रममै आलोचना हुने गरेको छ ।

माओवादी जनयुद्धकालमा राम्रो सहकार्य गर्दै एउटै पार्टीमा रहेका प्रचण्ड र भट्टराईका बीचमा समेत अहिले आलोचना हुने गरेको छ । माओवादीबाट छुटिएर नयाँ शक्ति गठन गर्दै उपेन्द्रसंग पार्टी एकीकरण गरेका डा.भट्टराई अहिले छुटै पार्टी नेसपाको अध्यक्ष छन् । निर्वाचन अघि माओवादी केन्द्रसंग एकीकरण गर्ने अन्तिम निष्कर्षमा पुगिसकेका उनी अहिले प्रचण्डको कार्यशैलीकै कारण एकीकरण गर्न अनिच्छुक छन् ।

समाजावदी मोर्चा घोषणा गर्दै पार्टी एकीकरण गर्ने रणनीति सहित अघि बढेका प्रचण्ड र नेपालका बीचमा पछिल्लो समय सम्बन्ध चिसिदै गएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचण्डमा ‘दम्भ र घमण्ड’ बढदै गईरहेको बताउँदै हालको सत्तारुढ गठबन्धन तुटन सक्ने चेतावनी नै दिएका छन् । नेपाल र प्रचण्ड दुबै अहिले सत्तारुढ गठबन्धनमा छन् ।

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा गठन गर्ने बताउँदै आएको भए पनि पछिल्लो समय यि नेताहरुसंग किन सम्बन्ध चिसिदै गएको भन्ने बारेमा मुख खोलेका छैनन् । समाजवादी मोर्चा हुदै बलियो कम्युनिष्ट पार्टी बनाउँन फेरि नेकपातिरै फर्किनुपर्ने समय आएको निष्कर्षमा पुगेका प्रचण्ड अन्य नेतासंगको सम्बन्धन बलियो बनाउँन असफल भएका छन् ।

बुधबार सुर्खेत पुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ र घमण्ड देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिएका छन् । कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै उनले एकीकृत समाजवादीलाई बाइपास गर्ने र दम्भ र घमण्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी दिए ।

माओवादीले पीडा दिएको बताउँदै अध्यक्ष नेपालले गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिएका हुन् । गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै उनले कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने बताए ।

‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन । गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ’ नेपालले भने ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताएका छन् । ‘जनतालाई खुसी बनाउनुपर्छ भन्ने मेरा चाहना हो, समाज समृद्ध भएपछि मात्र सबै प्रसन्न हुन्छन्’ उनले भने, ‘हाम्रो पार्टी नयाँ अभियानका साथ अघि बढीरहेको छ, भ्रष्टाचारलगायत सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिने हाम्रो प्रयास हो ।’

अध्यक्ष नेपालले गठबन्धनभित्र केन्द्रमै आफूहरू पीडित भइरहेको संकेत गर्दै अगाडी थपे, ‘अति गरे खति हुन्छ, समयमै बुझेको राम्रो । हामी केटाकेटी होइनौँ, मिठो कुरा गरेर मात्र केही हुदैन् । सानो केटाकेटीलाई ‘ल बाबु, पापा खाऊ !’ भनेजस्तो भइरहेको छ, हामी त्यस्ता त होइनौँ । सन्तुलित तरिकाले अघि बढ्नुपर्छ ।’

यता एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्री प्रचण्डले चासो नदिएको आरोप नै लगाएका छन् । काठमाडौंमा पेसागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले कृषि क्षेत्रको बजेट कटौती गर्न नहुने कुरा राख्दा प्रधानमन्त्री प्रचण्डले चासो नदिएको बताउँदै आक्रोश व्यक्त गरे ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरिएको भन्दै मन्त्री भुसालले असन्तुष्टि व्यक्त गरे । ‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ । कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौं । तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ । बजेट कृषिको पनि काटेको छ’ उनले भने, ‘कृषिको त नकाटौं न भनेको के गर्नु खोई, यस्तै हो भन्नुभयो, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्रधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनुभएन । कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो देखिँदैन ।’

यस्तै एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती हुने बताउँदै प्रधानमन्त्री प्रचण्डसंग असन्तुष्ट छन् । उनले आगामी आर्थिक वर्षका लागि मन्त्रालयको बजेट ५४ अर्ब कटौती हुने बताए । चालु आर्थिक वर्षमा १६७ अर्ब बजेट आकार रहे पनि आगामी आर्थिक वर्षका लागि १सय १३ अर्बको सिलिङ दिइएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->