२३ सांसदको खोजीमा ओली र रवि

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रीपरिषद विस्तार गर्दा समेत सरकारले पूर्णता पाउँन सकेको छैन् । पटक पटक किस्ताबन्दीमा मन्त्रीपरिषद विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलभित्रको आन्तरिक कलहका कारण अझै मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेका हुन् ।

आईतबार नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । कपिलवस्तु २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता आचार्य यसअघि ऊर्जा तथा सिंचाइ राज्यमन्त्री भईसकेका थिए ।

प्रधानमन्त्री प्रचण्डसंग अझै वन तथा वातावरण मन्त्रालय रहेको छ । सो मन्त्रालय जनता समाजवादी पार्टी नेपाल (जसपा)को भागमा परेको छ । तर जसपाले अझै मन्त्री हुनेको नामावली दिएको छैन् । जसपा प्रवक्ता मनिष सुमनले २७ बैशाखमा बस्ने पार्टीको कार्यकारिणी समितिबाट निर्णय गरेर मन्त्री हुनेको नामावली बुझाउँने बताए ।

११ पुसमा प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले सत्तारुढ दलभित्रको आन्तरिक कलह सुलझाउँन नसक्दा मन्त्रीपरिषद विस्तारमा ढिलाईका साथै उता प्रतिपक्षी दलले उनको दिनगन्ती सुरु गरिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलहरुले मिलेर सरकार सत्तारुढ दललाई फुटाउँने र अर्को नयाँ गठबन्धन बनाएर सरकार बनाउँने रणनीति बनाएका छन् ।

संसद्को चौथो ठूलो दल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । १० पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको रास्वपाले २२ माघमा सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको थियो ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डको समर्थनमा कांग्रेसका ८८, माओवादीका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमोर्चा तथा आम जनता पार्टी (आजपा) का १÷१ गरी १ सय ५८ सांसद रहेका छन् । यीमध्ये जनमत, जनमोर्चा र आजपा सरकार बाहिरै रहेका छन् । जनमतले मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै १७ चैतमा सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन ।

संसदको चौथो ठुलो दल रास्वपाले समर्थन फिर्ता लिएसँगै विपक्षी मोर्चा भने मजबुत भएको छ । अब एमालेका ७९, रास्वपाका २१, राप्रपाका १४ र नेमकिपाका १ सहित विपक्षी बेन्चमा १ सय १५ सांसद रहेका छन् । यि दलहरु मिल्दा सरकार बनाउँन २३ सांसद अपुग हुन्छ । विपक्षी गठबन्धनले जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी सहितका साना दललाई मिलाएर सरकार बनाउँने कसरतमा पनि लागेका छन् । तर जसपा अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वकै सरकारलाई आफ्नो पार्टीले निरन्तरता दिने बताएका छन् ।

प्रचण्डसंग असन्तुष्ट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग भेटेर रास्वपा सभापति रवि लामिछानेले नयाँ गठबन्धन र नयाँ सरकार गठनको बारेमा छलफल गरिसकेका छन् । एमालेबाट नयाँ गठबन्धनको प्रधानमन्त्री हुने आश्वासन पाएका लामिछानेले प्रचण्डबाट असन्तुष्ट अन्य नेताहरुलाई भेटने र विपक्षी मोर्चा बलियो बनाउँने कसरतमा छन् । यधपी उनले मिडियालाई आफू सरकार बनाउँने र गिराउँने खेलमा नलाग्ने बताउँदै आएका छन् ।

राम्रो मन्त्रालय नपाएकोमा जसपा अध्यक्ष यादव समेत प्रचण्डबाट असन्तुष्ट छन् । एमालेसंग मिल्न नचाहेको एकीकृत समाजवादी बाहेकका अन्य दललाई मिलाएर नयाँ सरकार बनाउँन सकिन्छ की भन्ने रणनीति सहित विपक्षी गठबन्धन सक्रिय छ ।

जनमतका महासचिव चन्दनकुमार सिंहले यस्तै अवस्था रहे समर्थन फिर्ता लिने अवस्था आउँन सक्ने बताउँछन् । प्रधानमन्त्री प्रचण्डको कार्यशैली ठिक नभएको बताउँदै उनले केही समय अझै ‘हेर्ने’ र त्यसपछि पार्टीले निर्णय गर्ने बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालले सत्तारुढ सबै दललाई मिलाएर अगाडी बढनुपर्ने र छिटै नै वनमन्त्री समेत नियुक्त हुने जनाएको छ । दलहरुले आ–आफ्नो पार्टीभित्र निर्णय गरेर पुन सत्तारुढ दलका भित्रमा छलफल गरी अगाडी बढनुपर्ने भएकाले बाहिर किचलो देखिए पनि भित्र त्यस्तो नभएको दावी प्रचण्डको सचिवालयले गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->