काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँने भन्दै सयौं नेपाली नागरिकबाट करोडौं रकम ठगी गरिएपछि त्यसमा उच्च पदस्थ नेता एवं कर्मचारी नै संलग्न रहेको खुलासा भएको छ । नेपाल प्रहरीले अनुसन्धान जारी राख्दै केही उच्चपदस्थलाई पक्राउँ गर्ने क्रममा रहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी विरुद्ध पनि पक्राउँ पुर्जी जारी भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी अहिले फरार रहेका छन् । प्रहरीले पक्राउँ गर्ने प्रयास जारी राखेको भए पनि असफल भएको छ ।
सोही बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा दुई पटक भेटघाट भएको छ । बिहिबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका एमाले अध्यक्ष ओली शनिबार फेरी प्रधानमन्त्रीलाई सिंहदरबारमा भेट गरेका छन् । प्रधानमन्त्रीका सचिवालयका अनुसार एमाले सचिव रायमाझीको बारेमा दुई नेताका बीचमा छलफल भएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीले तीन दिनयता सिंहदरबार धाएर प्रधानमन्त्री प्रचण्डसँग दुई पटक भटेर घण्टौं किन र केका बारेमा छलफल गरेका हुन भने अहिले चर्चाको बिषय बनेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिवसमेत रहेका सांसद् रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएका बेला बारम्बार भइरहेको प्रचण्ड–ओली भेटप्रति धेरैलाई शंका छ ।
संसद् नचलेको र अरू राष्ट्रिय मुद्दा खासै नदेखिएका बेला प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच तीन दिनमा दुई पटक भेटघाट भएको हो । प्रचण्ड र ओलीका बीचमा ‘वान टु वान’ भेटघाट हुनुले कतिपयले रायमाझीलाई जोगाउँने खेल भईरहेको भन्दै आशंका समेत गरेका छन् । तर दुबै नेताले त्यसलाई अस्वीकार गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीलाई भेटपछि ओलीले दोषी नउम्किऊन् तर षडयन्त्र गरेर फसाउन खोजे नसहने चेतावनी दिएका थिए । बहालवाला सांसद्लाई बाटोबाटै पक्राउ गर्न खोज्नुले षडयन्त्रको शंका रहेको टिप्पणी उनले गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले मुलुक आर्थिक समस्या र दबाबमा पर्नुको कारण भ्रष्टाचार रहेको बताउँदै कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट नदिने जनाएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन भन्न जति सजिलो छ हामीकहाँ त्यो साँच्चै कायम गर्ने चुनौती निकै नै ठूलो छ । सुशासन भन्नेबित्तिकै बेथिति विकृति भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।’
आफूले मजदुरहरूको महाधिवेशनमै भ्रष्टाचारको फाइल खोल्ने घोषणा गरेको प्रधानमन्त्री प्रचण्डले अगाडी थपे, ‘मजदुरहरूको महाधिवशेनमा घोषणा गरेको थिएँ । अब भ्रष्टाचारीको फाइल खोलिन्छ । कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ यो सुरुवात मात्रै हो, यो ट्रेलर मात्रै हो । यो सिंगो फिलिम देखिन्छ, सिंगै फिलिम देखिनेवाला छ ।’
भ्रष्टाचारविरुद्ध कारबाही चाल्दा ठूला–ठूला धम्की आउने सम्भावना समेत रहेको पनि प्रधानमन्त्री प्रचण्डले भने । ‘ठूल्ठूला घेराबन्दी होलान्, दबाब आउलान्, धम्की आउलान्, धेरै चिज हुनेवाला छ यसबीचमा’ उनले भने ।
भ्रष्टाचारीहरूलाई कारवाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष ओलीसँग शनिबार सिंहदरबारमा भएको भेटघाटमा आफूले भ्रष्टाचारमा संलग्नहरूलाई कारवाही गर्ने अभियान नरोकिने बताए ।
एमाले अध्यक्ष ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार कानुनअनुसार अगाडि बढ्ने बताउँदै उनले भ्रष्टाचारविरुद्धको सरकारको अभियान कुनै हालतमा नरोकिने बताए । ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताका साथ अघि जान्छ । दोषी कोही नछुट्न्, निर्दोष कोही नपरून् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिनँ, कारवाही अघि बढ्छ’ उनले भने । प्रधानमन्त्री दाहालले दोषी नछुट्ने र निर्दोष नफस्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा चासो राखेको बताउँदै प्रचण्डले भने, ‘अस्ति पनि उहाँको यो विषयमा कन्सर्न थियो । आज पनि त्यो कन्सर्न थियो ।’ एमाले सचिव रायमाझीलाई बचाउन भन्नुभएको हो भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने, ‘बचाइदेउ भन्न त सक्नुहुन्न । प्रधानमन्त्रीसँग आउँदा बचाइदेउ भन्न त सक्नुहुन्न ।’
एमालेका अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताएका छन् । करिब दुई घण्टा प्रधानमन्त्री प्रचण्डसंग शनिबार छलफल गरेका ओलीले सञ्चाकर्मीसंग भने, ‘आफूविरुद्ध हल्ला फैलाइदै छ ।’
अभियुक्तलाई बचाउन खोज्नुभएको छ भन्ने आरोप छ नि ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन्, त्यस्ताहरूले हल्ला फैलाएका हुन् ।’
तर ओलीले प्रधानमन्त्री प्रचण्डसंग थप के विषयमा छलफल भयो भन्ने विषयबारे भने केही बोलेनन् । बिहिबारको भेटमा आफ्नो सम्पर्क भएको बताएका ओलीले शनिबारको प्रचण्डसंगको भेटपछि आफनो सम्पर्क नभएको बताए ।
बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि ओलीले रायमाझीको बारेमा भनेका थिए, ‘एउटा बहालवाला सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ ।’ त्यतिबेला गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागि रायमाझी काठमाडौं आउँदै गर्दा फरार भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायतका अनुसार हालसम्म यस घटनामा जोडिएका भनिएका आठ जना पक्राउ परिसकेका छन् । बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा मामिला सल्लाहकार इन्द्रजीत राई सहितलाई प्रहरीले पक्राउँ गरि अनुसन्धान अगाडी बढाएको छ । पक्राउ पर्दा उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डे यसअघि गृह मन्त्रालयमा थिए ।
प्रहरीले गत बुधबार पूर्वउपप्रधानमन्त्री एवं सांसद रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । बिहिबार काठमाडौं जिल्ला अदालतले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
कहाँ हराए टोपपबहादुर रायमाझी ?
एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीसंग फोनवार्ता भएको खुलेको छ । रायमाझीसँग बुधबार साँझ आफ्नो कुरा भएको ओलीले बिहिबार भनेका थिए ।
प्रधानमन्त्री प्रचण्डसंग सिंहरदबारमा बिहिबार भेटेका ओलले सो जानकारी दिएका हुन् । ओलीले सञ्चारकर्मीसंग भनेका थिए, ‘मैले उहाँ (रायमाझी) सँग बुधबार बेलुकी कुरा गरेको थिएँ । तपाईंलाई पक्राउ पुर्जी भनेको सुन्छु केही जानकारी छ ? उहाँले मैले आइजिपीलाई कुरा गरेको छु भन्नुभयो । एक पटक स्पष्ट पारिदिनुपर्छ भन्नुभयो ।’
फोनमा रायमाझीले ओलीलाई आफू काठमाडौं आउन लागेको पनि बताएका थिए । उनले भने, ‘म काठमाडौं आउँदै छु भन्नुभएको थियो, काठमाडौं आउँछु भनेको मान्छेलाई कोही समात्यो भन्छन्, कोही फरार भन्छन्, के हो थाहा छैन ।’
एमाले अध्यक्ष ओलीलाई ‘काठमाडौं आउँदै छु’ भनेका रायमाझी कहाँ गए भन्ने अहिलेसम्म खुलेको छैन । रायमाझी विरुद्ध बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि रायमाझीलाई प्रहरीले खोजी तीव्र पारेको छ ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका थिए । उनीसंगै सभामुख देवराज घिमिरेसमेत रहेका थिए ।
सो कार्यक्रम सकेर बुधबार नै सभामुख घिमिरे र रायमाझी एउटै प्लेनमा फर्किने गरी टिकट काटेका थिए । तर कार्यक्रम चल्दै गर्दा रायमाझी विरुद्ध पक्राउँ पुर्जी जारी भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै यस घट्नामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको बताउँदै उनले कानुन अनुसार अनुन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कानुनलाई सघाउँछु र ओलीलाई काठमाडौं आउँदै छु भनेका उनै रायमाझी बुधबार रातिदेखि नै सम्पर्क बिहिन छन् । उनको फोनसमेत स्विच अफ रहेको प्रहरीकोले जनाएको छ । उनको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको प्रहरीले जनाएको छ ।
