काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नेपाली नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जनाएका छन् ।
बुधबार महासचिव पोखरेलले एक बिज्ञप्ती जारी गर्दै सचिव रायमाझीलाई पदबाट निलम्बन गरिएको जनाएका छन् । ‘…राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कारवाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराईन्छ’ महासचिव पोखरेलले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाली नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पार्टी नेतृत्वसंग सम्पर्क गरेका रायमाझी अनुसन्धानमा सहयोग गर्न स्वयंम प्रहरीमा उपस्थिति हुने जनाएका थिए । तर उनी फरार भएका छन् । नेपाल प्रहरीले उनलाई खोजी गरिरहेको छ । रायमाझीका छोरा सन्दीप रायमाझीलाई सोही मुद्धामा पक्राउँ गरिसकेको छ ।
एमालेले रायमाझीले पार्टी नेतृत्वलाई ढाँटेको समेत जनाएको छ । महासचिव पोखरेलले रायमाझीविरुद्ध भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुजी जारी भएपछि उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता विपरित पार्टी नेतृत्वलाई समेत झुक्याएको जनाएका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हामी विधिको शासनमा विश्वास गर्दछौं । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’
यही मान्यताअनुरूप पक्राउ पूर्जी जारी हुनासाथ एमालेले रायमाझीलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको महासचिव पोखरेलले जनाएका छन् । त्यसक्रममा रायमाझीले समेत आफु त्यसमा तयार रहेको बताएपनि मंगलबारसम्म उपस्थित नभएपछि पार्टी सचिवालय बैठकले समेत उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको थियो ।
‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो । तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरित उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो (मंगलबार) बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो’ पोखरेलले जनाएका छन् ।
प्रहरीको फरार सूचीमा रहेका रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् । संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति गरिदिन भनेर रायमाझीले निवेदन पठाएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद रायमाझीलाई एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ । उनी एकसातादेखी फरार रहेको प्रहरीले बताए पनि उनी आफू विरामी भएको भन्दै निवेदन पठाएका हुन् ।
