नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ बिकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रुपमा समाधान गरिने बताएको भोली पल्ट प्रधानमन्त्री प्रचण्डले नयाँ बिकल्प सुझाएका छन् ।
शुक्रबार नयाँदिल्लीमा सञ्चाकर्मीसंगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि बिभिन्न बिकल्पको बारेमा सोच्ने काम भईरहेको बताए ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका सिमावर्ती क्षेत्रलाई लिएर नेपाल–भारतका बीचमा सीमा समस्या रहेको छ । नेपालले ति समस्याको दिर्घकालीन समाधान गर्दै बंगलादेशसंग सीधा सडक मार्ग व्यवस्थापन गर्न सकिने तर्क प्रचण्डको छ ।
‘बंगलादेशसंग सिधा जाने बाटो हामीलाई चाहिएको छ भन्ने नेपालमा उहिले देखिको उठिरहेको आवाज पनि हो, हामीलाई चाहिएको कुरा पनि हो । आवश्यकता पनि हो, चाहना पनि हो’ प्रधानमन्त्री प्रचण्डले भने ।
तर सीमा समस्या समाधानका लागि कुन क्षेत्र लिने र कुन क्षेत्रमा कति भूमी लिनेदिने भन्ने बारेमा प्रचण्डले स्पष्ट गरेनन् । यधपी कतिपयले केही विवादित भूमी नेपालले छोडने र भारतले लिने उता बंगलादेशसम्म नेपाललाई भारतले सडक मार्गका लागि भूमी दिनेलिने भन्ने बुझेका छन् ।
चारदिने भारत भ्रमणमा रहेका प्रचण्ले नेपाललाई बंगलादेशसम्मको सीधा सडकसम्बन्धी कुनै व्यवस्थापन वा अन्य विकल्पहरूको प्रयोग गरेर सीमा विवाद समाधान गर्न सकिने बताएपछि त्यसलाई सोही रुपमा व्यख्या भईरहेको छ । नेपालको पूर्वी सीमाबाट बंलादेशसम्मको सीमा २७ देखी करिब ४० किलोमिटरसम्मको दुरीमा रहेको छ ।
‘एउटा हो बंगलादेशको मोडेल, बंगलादेश र भारतबीच पनि धेरै वर्षदेखिको समस्या थियो तर उनीहरूले हल गरे’ प्रधानमन्त्री प्रचण्डले भने । बंगलादेश र भारतबीच सन् २०१५ मा आफूलाई पायक पर्ने क्षेत्रमा पर्ने जमिन साटफेर गरेर सीमा समस्या समाधानको सहमति भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले यस बाहेकका अन्य विकल्पबाट पनि सीमा समस्या हल हुनसक्ने बताए । प्रधानमन्त्री प्रचण्डले सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएकोमा खुशी व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि नेपालको कतिपय ठाउँमा विरोध समेत भईरहेको छ ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत बीच उर्जा व्यापारको क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको दाबी गरेका छन् । प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र आफूबीच भएको एक्लाएक्लै वार्तापछि महत्वपूर्ण समझदारी जुटेको बताए ।
नेपालको विद्युत व्यापार, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि २ देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
‘जलविद्युत क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ । नेपालको विद्युत बंगलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो’ उनले भने । प्रधानमन्त्री प्रचण्डले महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ३ महिनाभित्र बनाउने विषयमा दुई देशबीच सहमति भएको पनि बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा २ देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यसैबीच प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्य प्रदेशको इन्दोर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड राजधानी दिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे । विमानस्थल बाहिर प्रधानमन्त्री प्रचण्डलाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो ।
प्रधानमन्त्री प्रचण्ड पुग्दा सडकमा उभिएका नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए । विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुगेर पूजाअर्चनासहित मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गरेका छन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री प्रचण्ड होटल इन्दोर मेरियटमा शुक्रबार बस्ने र शनिबार नयाँदिल्ली आउँने कार्यक्रम रहेको छ । प्रचण्डसंग मध्यप्रदेशका गभर्नर मंगुभाई पटेलले भेटवार्ता गरेका छन् ।
इन्दोरमा रहँदा प्रधानमन्त्रीले ‘स्वच्छ भारत अभियान’अन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिए । उनको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण समेत गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड शनिबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ । भारतीय समकक्षी मोदीको निमन्त्रणामा यही १७ जेठमा उनी भारतको औपचारिक भ्रमणमा आएका छन् ।
बिहीवार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलन तथा द्विपक्षीय सम्झौता हस्तान्तरण कार्यक्रममा केही महत्वपूर्ण सम्झौता हुनुका साथै केही सम्पन्न आयोजनाहरुको दुबै प्रधानमन्त्रीले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । तर दुबै प्रधानमन्त्री बीचको भेटवार्तामा अग्निपथमा गोर्खा भर्ती र ईपीजी प्रतिवेदन सहित केही महत्वपूर्ण भनिएको बिषयमा उनीहरुका कुनै छलफल नै भएन् ।
