निजामती कर्मचारीको सरुवा व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यदल गठन गरेको छ । कर्मचारीतन्त्रमा सरुवाको विकृति झाँगिएपछि त्यसलाई नियन्त्रण गर्न कार्यदल गठन गरिएको मन्त्री अमनलाल मोदीले जानकारी दिए् । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा हेर्ने सहसचिव हेमराज तामाङ र स्थानीय तह तथा क्षमता विकास महाशाखा प्रमुख सहसचिव बलराम रिज्याल सम्मिलित कार्यदल गठन भएको उनले बताए ।
कार्यदलले सरुवासम्बन्धी हालका कानुनी व्यवस्था र अभ्यास हेरेर उपयुक्त सुझाव दिनेछ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कार्यदलले सरुवा प्रणालीलाई व्यवस्थित बनाउनेबारे सुझाव दिनेछ ।’ कार्यावधि, भौगोलिक क्षेत्र आदिका आधारमा सरुवा हुनुपर्नेमा उनले जोड दिए । सरुवालाई व्यवस्थित गर्न आफू लागिपरेको मोदीको दाबी छ ।
