सोमबार बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीबारे अध्ययन गरिने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीको अध्ययन गर्न बैठक बोलाइएको छ,’ उनले भने।
आजको बैठकमा उजुरीकर्ताहरूलाई छलफलमा बोलाउनेबारे पनि निर्णय हुने उनले बताए।
जेठ १६ गते कार्कीविरूद्ध १० दिनभित्र उजुरी दिन सुनुवाइ समितिले सूचना प्रकाशित गरेको थियो।
आइतबार मात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई उनको अवकाशको मितिबारे न्याय परिषद्ले सम्झाएको थियो ।
न्याय परिषद् सचिवालयले आइतबार पठाएको पत्रमा ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउने जानकारी गराइएको छ।
अवकाशको एक महिना अघिदेखि नै प्रधानन्यायाधीशले इजलासमा बस्न नपाउने कानूनी प्रावधान छ।
