काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए।
अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको हो । ‘श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल उनी अस्पताल पुगेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई मायोकाड्रिएल इन्फ्राक्सन अर्थात हृदयघात भएको हो ।
अस्पतालका अनुसार अहिले राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायत समस्या भएपछि अस्पताल पुगेका थिए।
चिकित्सकका अनुसार एनजिओप्लास्टी गरेपछि मुटुले कस्तो काम गर्छ भनेर दुई दिन हेर्नुपर्ने हुन्छ । त्यसैले राष्ट्रपति पौडेललाई दुई दिन अस्पतालमा नै राख्ने तयारी गरिएको छ ।
स्रोतका अनुसार अस्पताल निर्देशक डा चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको शल्यक्रिया गरेको थियो । तर अस्पताल भर्ना भएका राष्ट्रपतिको विषयमा उनको सचिवालयले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।
राष्ट्रपति पौडेलले शनिबार पनि गंगालालमै नियमित परीक्षण गराएका थिए । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गरी राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि आएका र चिकित्सकको सल्लाह अनुसार एक दिन अस्पतालमै अब्जर्भेसनमा राखिने बताएका छन् ।

