काठमाडौँ । महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो ।
महानगरपालिकाले सानो भर्याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेको खबर आएको जनाएको छ ।
‘हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो’, उनले भनेका छन्, ‘यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो।’
तर, पढ्ने ठाउँमा ताला लगाएर अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको शाहको भनाइ छ ।
