काठमाडौं । शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अनुसार शनिबार रातिको वर्षा, बाढी र पहिरोका कारण धेरै त्यस क्षेत्रका धेरै सडक अवरुद्ध हुनुका साथै पुलहरु पनि भत्किएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।
सडक, पुललगायतका भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको उनले आइतबार प्रतिनिधिसभा बैठकमा जानकारी दिए ।
ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने हेवाखोलाको ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूण रुपमा अवरुद्ध भएको छ ।
तमोर करिडोरमा पर्ने पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने मझमिटारस्थित ४५ मिटर लामो हेवाखोला बेलिब्रिज पनि बगेको छ ।
