पोखरा । योग दिवसको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिक उड्डययन मन्त्री सुदन किरांतीले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि हवाई रूट उपलब्ध गराउने कुरा उठाएका थिए । जवाफमा भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भैरहवा विमानस्थललाई हवाई रूट उपलब्ध गराउने बारे सकारात्मक रहेको जवाफ फर्काएका थिए ।
लुम्बिनीमा यो कुरा भएको चौबीस घण्टा नबित्दै पर्यटन तथा नागरिक उड्ययनमन्त्री किरांतीले पोखरामा भारतीय दूतावासद्वारा आयोजित योग दिवसको मुख्य कार्यक्रममा फेरि हवाई रूटको कुरा दोहराएका थिए ।
पोखरा रंगशालामा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री सुदन किरांतीले पोखरा विमानस्थल नियमित संचालन गर्नमा सहयोगको मांग गर्दै हवाई रूटको कुरा उठाए । साथै भारतको विभिन्न शहरहरूबाट पोखराको लागि सिधै उडान गराउन पहल गरि दिन पनि आग्रह गरेका थिए ।
मंगलवार लुम्बिनीको कार्यक्रममा हवाईमार्गबारे सकारात्मक रहेका भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरामा हवाई रूटबारे कुरै गरेरनन् । समारोहलाई सम्बोधन गर्ने क्रममा राजदूत श्रीवास्तवले पोखरामा सबैभन्दा बढी भारतीय पर्यटकहरू आउने गरेको कुरा बताए ।
मन्त्री किरांतीले भारतको विभिन्न शहरहरुबाट पोखरालाई सीधै उडान अनुमतिको बारेमा जवाफ फर्काउंदै भारतीय राजदूत श्रीवास्तवले भारतको विभिन्न प्रान्तहरूबाट अहिले पनि सबैभन्दा बढी भारतीय पर्यटकहरूनै आउने गरेको बताए । राजदूत श्रीवास्तवले भने आजको मितिमा पनि पोखरामा विभिन्न कार्यक्रमहरूको आयोजना गरिंदैछ । तर पनि पोखरामा आजको मितिमा पनि भारतीय पर्यटकहरूको उपस्थितिनै सबैभन्दा बढी छ ।
श्रीवास्तवले नेपाल भारतबीचको जन जनको सम्बन्धको लागि कुनै एयरपोर्ट र प्लेन सुविधा मात्रै भए पछि भारतीय पर्यटक आउने होइनन् । बिहार, यूपी, बंगाल, उत्तराखण्डबाट मात्रै होइन, गुजरात देखि महाराष्ट्र सम्म र केरल देखि कर्णाटक सम्मका जनता निजी साधनले नै पशुपतिनाथ देखि मुक्तिनाथ सम्म र लुम्बिनी देखि पोखरा सम्म पुग्ने गरेका छन् ।
