काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने तयारी गरेका छन् । सोही तयारी अनुसार प्रधानमन्त्री प्रचण्डले परिषद्को सदस्यमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानालाई मनोनित गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार स्थानीय तह, प्रदेश र संघको संयुक्त बैठकको रुपमा परिषद्को बैठक बोलाउने तयारी प्रधानमन्त्री प्रचण्डले थालेका हुन् ।
‘राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि तयारी सुरु भएको छ, सोही अनुसार हामीले कामहरु गर्न थालेका छौं । ठ्याक्कै मिति भने तय भएको छैन,’ प्रधानमन्त्री कार्यालयकी समन्वय तथा योजना शाखाकी सहसचिव रेखा दासले भनिन् ।
