जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
उपमहानगरपालिकाले आज आयोजना गरेको १०औँ नगर अधिवेशनमा नगर उपप्रमुख किशोरी साहले आर्थिक वर्ष २०८०÷८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित आयव्यायको बजेट प्रस्तुत गरेका हुन् । मेयर मनोजकुमार साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
‘सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत जनकपुरधाम उपमहानगर’ बनाउने नारासहित उपप्रमुख साहले नगर सभालाई सम्बोधन गर्दै विनियोजित खर्चमध्ये चालू खर्च १ अर्ब १३ करोड ६२ लाख, पुँजीगत खर्च ५६ करोड ९५ लाख १८ हजार २९०, वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार र युआरएलआईपी सञ्चालनतर्फ ५२ करोड ३३ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले यसका अतिरिक्त विनियोजन बजेटमा अन्य अनुदान शीर्षकअन्तर्गत सामाजिक सुरक्षा भतालगायतमा बजेट सिलिङ प्राप्त नभएकोले सामाजिक सो शीर्षकमा विनियोजित भई आउने रकम सोहीअनुसार विनियोजन हुने बताए ।
उल्लेखित खर्च बेहोर्न कुल राजश्वको अनुमान २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँ पेस गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९०, बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार) तथा युआरएलआईपी सञ्चालनको लागि नगर विकास कोषबाट प्राप्त हुने आन्तरिक ऋण ८ करोड ३७ लाख ६० हजार राजश्व, ऋण तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
आन्तरिक स्रोततर्फ आन्तरिक राजश्व २१ करोड, नेपाल सरकार राजश्व वाँडफाँटबाट ३४ करोड ८४ लाख २६ हजार एक सय, प्रदेश सरकार राजश्व बाँडफाँटबाट १ करोड ८८ लाख ८५ हजार १९०, नगर विकास कोष ऋण ८ करोड ३७ लाख ६० हजार र जनसहभागिताबाट २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । यस उपमहानगरपालिकाको सञ्चित कोषमा बैंक मौज्दात २० करोड रहने अनुमान छ ।
बाह्य स्रोततर्फ अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार) राजश्व र अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
नेपाल सरकारको सशर्त अनुदानबाट ६० करोड २९ लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, नेपाल सरकार समपुरक अनुदानबाट १ करोड २५ लाख र युआरएलआईपी कार्यक्रम संचालनको लागि ४० करोड १२ लाख २३ हजार गरि जम्मा १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट ५० लाख र प्रदेश सरकार समानीकरण अनुदानबाट २ करोड ५१ लाख ७५ हजार गरी ५ करोड २६ लाख ७५ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान छ ।
त्यस्तै, सार्वजनिक स्थानमा फोहोरमैला संकलनको लागि डस्टबिन व्यवस्थापन गर्न ३० लाख, लामखुट्टे नियन्त्रणको लागि अध्ययन गर्न २० लाख तथा सोको प्रतिवेदन अनुरूप कार्य गर्न थप २ करोड ५० लाख, नगरपालिकाको आफ्नो सवारी साधन पार्किङस्थल तथा ग्यारेजको लागि १ करोड ५० लाख, नगर सौन्दर्यकरण योजना तथा फोहोरमैला प्रशोधन केन्द्र निर्माणको लागि २ करोड ५ लाख, रंगभूमि मैदान व्यवस्थापनको लागि सहलगानी अनुरूप २० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा थप निर्माण गर्न २० लाख र घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मनोजकुमार साहले स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । सार्वजनिक निजी साझेदारीमा जनकपुरधाममा एउटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिनेछ। ‘एक टोल एक सामूहिक कृषि उत्पादन, उत्पादन क्षेत्र’ नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिनेछ।
युवालक्षित सहकारी र सामुदायिक खेती प्रणालीमा प्रोत्साहित खेती गरिनेछ। मेयर साहले उपमहानगरको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै उपमहानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने जानकारी गराए।
भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने भन्दै उनले उपमहानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै उपमहानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताए । उनले जनकपुरधामलाई नेपालको सांस्कृतिक राजधानी घोषणा गर्न नेपाल सरकारसँग पहल गरिने समेत बताए ।
सडकमा खुला रूपमा विचरण गर्ने छाडा चौपायाहरुको उचित व्यवस्थापनका लागि एक वडा नं. १२ मा पहिलो चरणको गौशाला निर्माण सम्पन्न भएको बताउँदै उनले सोको सञ्चालन यही वर्षको १ साउनबाट हुने जानकारी दिए । सामूहिक, व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै बजार सुनिश्चित गरिनुका साथै सोको लागि सार्वजनिक निजी साझेदारीमा एक वैज्ञानिक तथा व्यवसायिक अत्याधुनिक व्यवसायिक कृषि बजार सञ्चालन गरिनेछ ।

