काठमाडौं । रुसको निजी सैन्य समूह वागनर नाटकीय रुपमा पछि हटेको छ । विद्रोहको धम्की दिएको २४ घण्टामै वागनर समूह पछि हट्न सुरु गरेको हो ।
यससँगै रुसमा नाटकीय र तनावपूर्ण दिन अन्त्य भएको बीबीसीले जनाएको छ । वागनर भाडाका सैनिकहरुको समूह हो । यो समूहका लडाकुहरु पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ ।
युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको वागनर समूहको गुनासो छ । साथै मिसाइल आक्रमण पनि आफ्नै भूमिमा गराएको भन्दै वागनर समूह असन्तुष्ट छ ।
यिनै असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को प्रवेश गर्ने भनेर धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो ।
