चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा यात्रुहरुको विचल्ली भएको छ ।
१९ घण्टादेखि सडक अवरुद्ध हुँदा मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।
विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । पोखरातर्फको क्षेत्रमा जाने सवारी साधनलाई निर्वाध चल्न दिन अधिकतम प्रयास गरिएको प्रहरीको भनाइ छ । मुग्लिन–नारायणगढ भएर चल्ने सवारी साधनलाई भने वैकल्पिक सडक भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
