भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिकरुपमा सक्षम बनाउन सकिने बताएका छन् ।
उनले सञ्चालन गरेको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानअन्तर्गत गृह जिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैँले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
पर्यटकहरुलाई आकर्षित गर्नका लागि आफ्नो संस्कार, संस्कृति तथा आचरण र वातावरणमा सुधार गर्नुपर्ने उनको भनाइ छ । पर्यटकीय क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिकस्तरबाट अगुवाइ गर्नुपर्नेमा उनको जोड थियो ।
आफ्नो घर अगाडि फोहर होइन फूल भन्ने अभियान सञ्चालन गर्नुपर्ने मन्त्री किरातीले बताए । यसका लागि नागरिकले हप्तामा दुई घन्टा श्रमदान गर्ने बानी बसाल्नुपर्ने उनको भनाइ छ । उनको अगुवाइमा जिल्ला अस्पतालसँगै बजार क्षेत्रको सरसफाइ गरिएको छ ।
सचेतनाका रुपमा सरसफाइ गरिएको भए पनि यसको निरन्तरताका लागि नागरिक आफैँ सचेत बन्नुपर्ने भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए । ‘मन्त्रीको उपस्थितिमा बजार क्षेत्रको सरसफाइ गरेका छौँ’,
बजार क्षेत्रको सरसफाइका लागि नागरिकस्तरबाट अगुवाइ हुनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए । कार्यालयले सरसफाइका लागि आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्लाका सरकारी कार्यालय, सुरक्षा निकाय तथा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । मन्त्री किरातीले जिल्ला अस्पातलको बिरामी कुरुवा घरको अनुमगन तथा परिसरमा वृक्षरोपणसमेत गरेका थिए ।
