जनकपुरधाम । जनकपुरधामको मुजेलियामा खुलेको भाटभटेनीमा उपभोक्ताहरुको दिनभर अत्यधिक भीड हुने गरेको छ । भीडको कारण शनिवार भाटभटेनी नै बन्द गर्नु परेको हो ।

२५औँ स्टोरको रुपमा यही असार ६ गतेदेखि जनकपुरधाममा सञ्चालनमा आएको सो स्टोरमा उपभोक्ताको अत्याधिक भीड बढेपछि स्टोरका साथै वालबालिका, बृद्ध तथा महिलाहरुको समेत सुरक्षालाई ध्यानमा राखी शनिवार ३ बजेदेखिनै स्टोर बन्द गर्नु परेको भाटभटेनीका क्षेत्रिय व्यवस्थापक बिनोद भट्टराईले जानकारी दिएका छन् । तर आइतवार विहानैदेखि भाटभटेनी नियमित खुलेको छ ।
यसरी भीड बढेर बन्द गर्नुपरेको भाटभटेनीको इतिहासमा यो पहिलो घटना भएको कर्मचारीहरु वताउँछन् । ‘सेवाग्राहीको निकै चाप थियो । हामीसँग उपलब्ध रहेको कामदारले सेवाग्राहीलाई सपिङ गराउन नसक्ने भएपछि बन्द गरेका थियौं,’उनले भने,‘व्यपार राम्रो भइरहेको छ ।’

कामदार थप्ने वा भिँडमा कसरी सेवाग्राहीलाई सेवा दिने विषयामा आफूहरु सञ्चालक समितिलाई जानकारी गराएको उनले बताए ।
२ अर्ब बढी लगानीमा जनकपुरधाम उपमहानगरपालिका वडा न.१४ मुजेलीया, शहीदद्वार नजिकै स्थापना भएको यस स्टोर १ विगाह १० धुर क्षेत्रफलमा बनेको छ । २ लाख बढि वर्गफुट सपिङ स्पेस रहेको यस स्टोरमा २०० बढी स्थानीयले प्रत्येक्ष रोजगारी पाएका छन । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानहरुमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा पनि दिएको भाटभटेनीले जनाएको छ ।

जनकपुरमा २५औँ स्टोर सञ्चालनमा ल्याएर काठमाडौं फर्किएका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ लतिता निवास प्रकरणमा केही दिन देखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको नियन्त्रमा छन । साहुका लागि पक्राउ प्रकरणले समस्या भएपनि भाटभटेनी राम्रो व्यवसाय गरिरहेको छ ।
