काठमाडौं । संसदीय समितिका सभापति चयन प्रक्रिया अगाडि बढाउन दलहरू सहमत भएका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू संसदीय समितिका सभापति चयन गर्ने प्रक्रिया अगाडि बढाउन सहमत भएका हुन् ।
बैठकमा मुख्य दलका नेताहरुले अब सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्ने नसकेपछि सभामुख घिमिरेले मुख्य दलका शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।
बैठकमा घिमिरेले संसदीय समितिको नेतृत्व चयनमा समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाउँ भन्दै सोधेका थिए । ‘सभापति चयनबारे प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ मैले सकेसम्म समझदारी होस् नभए अब प्रक्रिया अघि बढ्छ भनेको छ,’ बैठकपछि घिमिरेले सञ्चारकर्मीहरूसँग भने । कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभापति चयनबारे सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेर चाँडै प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए ।
गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाएका थिए ।
