जनकपुरधाम । सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।
उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा न।– ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए । तर प्रहरीले उजरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए । उपमेयर यादवका पति महेन्द्र भने फरार छन् । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । उनको पतिको खोजविन भइरहेको छ ।
