काठमाडौं । फिल्मकर्मीले विदेशी फिल्मको परिभाषा र प्रदर्शनको मापदण्डलाई सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । प्रस्तावित चलचित्र नीतिबारे सुझाव संकलनका लागि चलचित्र विकास बोर्डले बिहीबार आयोजना गरेको छलफलमा सम्बद्ध निकायले यस्तो आग्रह गरेका हुन् ।
‘आदिपुरुष’सहित केही विदेशी फिल्मलाई लिएर पछिल्लो समय भएका विवादतर्फ इंगित गर्दै उनीहरुले चलचित्र नीतिलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउनु जरुरी रहेको बताए । संसदमा रोकिएको चलचित्र नीतिमाथि परिमार्जनको लागि मन्त्रालयले बोर्डबाट सुझाव मागिरहेको छ ।
छलफलमा चलचित्र नीति मस्यौदा समिति संयोजक यादव खरेलले समेटिएका विषयवस्तुबारे प्रकाश पारेका थिए । झण्डै पाँच वर्षअघि खरेल नेतृत्वको समितिले मन्त्रालयलाई पेश गरेको मस्यौदा यतिबेला अलपत्र परेको छ ।
