काठमाडौँ । दक्षिण अफगानिस्तानस्थित उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे ।
प्रवक्ताले थप विवरण नदिइकन प्रहरीले पक्तिका र परवान प्रान्तमा लागुऔषध विरोधी अभियान अन्तर्गत २०० एकड अफिम पनि नष्ट गरेको बताए ।
अफगानिस्तानको राजधानी काबुल शहरमा पछिल्लो २४ घण्टामा लागू औषध ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, हेरात प्रान्तमा पछिल्लो एक सातामा करिब एक दर्जन लागुऔषध तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।
अफगानिस्तानको कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा जारी गरेको आदेशमा अफिमलगायत अवैध बालीको खेती, लागू औषध प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाइएको घोषणा गरे ।
