काठमाडौं। चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबार बाट सुरु भएको छ ।
यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको हो ।
समितिका सदस्य एवं धर्मशास्त्रका ज्ञाताहरु गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबारमा व्रत लिनुपर्ने निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।
धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ ।
पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिए । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ ।
चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए ।
साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए ।
चान्द्रमास अनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लाग्ने जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।
