काठमाडौं । गत १ वैशाख २०७६ नयाँ वर्षको एकाबिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटना भएको थियो ।
लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो । मनाङ एयरको हेलिकप्टरको ककपिटमा थिए चेतबहादुर (सीबी) गुरुङ । उनी घाइते भए । सो बेला उनी ३ महिना अस्पतालमा बस्नु परेको थियो ।
त्यसपछि निको भएर सेवामा खटिएका अनुभवी पाइलट यी गुरुङले उडाएको मनाङ एयरको नाइनएन–एएमभी हेलिकप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा नजिक दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार यो हेलिकप्टरमा कुल ५ जना यात्रु सवार थिए । यात्रु सबै मेक्सिकन नागरिक हुन् । जसको कमाण्ड क्याप्टेन सीबी गुरुङसँग थियो ।
५५ वर्षीय गुरुङ विगत १० वर्षदेखि मनाङ एयरमा आवद्ध थिए । यसअघि उनले गोरखा एयर, श्री एयरसहितका कम्पनीका हेलिकप्टर उडाएका थिए ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार क्याप्टेन गुरुङ सन् १९९७र९८ देखि निरन्तर उडानमा थिए । उनीसँग ७ हजार घण्टा हवाई उडानको अनुभव थियो ।
