काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी गरेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए । पक्राउ परेदेखि नै उनलाई पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्नुपर्ने आवाज कांग्रेसमा उठ्दै आएको छ । तर गत वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँणलाई कांग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन ।
बुधबार ९आज०देखि सुरु हुन लागेको कांग्रेसको केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनबारे कुरा उठाउने कांग्रेसका एक शीर्ष नेताले बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठक बस्दै छ ।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा। प्रदीप पराजुलीका अनुसार केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिको विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ ।
कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई(दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो । गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।
यसबीचमा कांग्रेसले कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गर्दै आएको थियो ।
