काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।
भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।
विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए ।
तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला पनि छन् ।
अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीका अनुसार श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको हो । त्यही क्रममा बुधबार कुवेत जान हिंडेकाहरुसँग अनौपचारिक रुपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको विभागको दाबी छ ।
स्रोतका अनुसार इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।
आइतबार श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो । एससीसी म्यानपावर कम्पनीबाट जोर्डनको मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिला श्रमिकहरुलाई अध्यागमनले शंकास्पद भिसा भन्दै फर्काएको थियो ।
