काठमाडौं । भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै आश राखेका हुन्छन् ।
यो गैरकानुनी प्रथाको उन्मुलनका लागि भारतको मध्यप्रदेशकी एक शिक्षिका ९नाम गोप्य राखिएको०ले आन्दोलन सुरु गरेकी छिन् । दाइजो बिना नै बिहे गर्ने अडानमा रहेकी २७ सालकी उनले बिहेको मण्डपमा निगरानी गर्न र छापा मार्न अनुरोध गर्दै प्रहरीमा निवेदन दिएकी छिन् ।
दाइजोका कारण दजर्न बढी केटाका परिवारले आफूलाई बुहारी बनाउन नचाहेपछि उनी प्रहरीमा पुगेकी हुन् ।
पछिल्लो पटक गत फेब्रुअरीमा उनका पिताले केटाको एउटा परिवारलाई बिहेको कुराकानीका लागि बोलाएका थिए ।
केटाको परिवार कुराकानीका लागि आएपछि ती शिक्षिका चिया नास्ता लिएर बैठक कोठामा गइन् ।
ती शिक्षिकाका अनुसार केटा पक्ष आउनुअघि नै उनलाई कसरी प्रस्तुत हुने, कुन लुगा लगाउने, कसरी हाँस्ने भनेर आमाले सिकाएकी थिइन् ।
आमाको रोजाइको हरियो रंगको लुगामा उनी राम्री देखिन्थिन् । दाँत त्यति राम्ररी नमिलेका भएर आमाले दाँत देखिने गरी नहाँस्न भनेकी थिइन् । यो सबै कुरा ती शिक्षकाका लागि नयाँ र नौलो थिएन । किनकी यो सिलसिला पछिल्लो ६ वर्षदेखि चलिरहेको थियो । हरेक पटक केटा पक्षबाट कति पढेकी छौ, के काम गर्छौ, खाना बनाउन आउँछ कि आउँदैन भन्ने प्रश्नको सामाना उनले गर्नु परेको छ ।
ती शिक्षिकाले चिया नास्ता लिएर बैठक कोठामा छिर्नुअघि आफ्ना पिता र केटाका पिताबीच दाइजोको बारेमा कुराकानी गरेको सुनेकी थिइन् ।
ती शिक्षिकाका अनुसार केटाका बाबुले भनेका थिए, ‘ ५०-६० लाख त चाहिहाल्छ नि, केटी राम्री रहिछन् भने केही छुट गरौँला ।’
बिदा हुने बेलामा केटाका बाबुले दाइजो रकममा कुनै छुट नदिने बताएको उनले थाहा पाइन् । शिक्षिकाका नमिलेका दाँत र निधारमा भएको दागले गर्दा उनका बाबुले दाइजो रकमा कुनै छुट पाएनन् ।
चिया नास्तापछि केटा र केटीलाई एकान्तमा कुराकानी गर्न पठाइयो । ती शिक्षिकाले केटालाई आफू दाइजो दिएर बिहे गर्न तयार नभएको बताइन् । केटाले दाइजोलाई सामाजिक कुरिती भने । यो सुनेर ती शिक्षिकाले यी केटा आफूले भेटेका अरु केटा भन्दा फरक रहेछन् भन्ने ठानेकी थिइन् ।
तर उनको त्यो ठम्याइँ गलत सावित भयो । दाइजो बिना यो परिवार बिहेका लागि तयार भएन ।
पिताले बल्ल बल्ल खोजेको केटासँग दाइजो बिना नै बिहे गर्नु भनेकोमा ती शिक्षिकासँग उनकी आमा धेरै रिसाइन्, एकदुई हप्ता आमा छोरीको बोलचाल नै भएन ।
