काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो ।
त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।
भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले चाहिँ अनविज्ञता प्रकट गरेको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारबाट कटेको सुन समातिएकोबारे जानकारी नभएको बताए ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल अहिले विदामा छन् । उनको अनुपस्थितिमा भन्सारको जिम्मेवारी नारद गौतमले सम्हालेका छन् ।
