काठमाडौं । पाँच दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचन प्रणाली परिवर्तन, संघीयता र धर्मनिरपेक्षता खारेजका विषय उठेको छ ।
२ साउनमा सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका छन् । त्यस क्रममा बोल्ने कतिपयले हालको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनमै सबै जाति, क्षेत्र समुदायको प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने, संघीय संसद सदस्यको संख्या घटाउनुपर्ने, संघीयताको विकल्प खोज्नुपर्ने र धर्म निरपेक्षता खारेज गर्नुपर्ने विचार राखेका छन् ।
बैठकमा सांसद सदस्य घटाउनुपर्ने विषय केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रवेश गराए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद संख्या घटाउनुपर्ने र त्यसका लागि संविधान संशोधनको अगुवाइ कांग्रेसले गर्नुपर्ने उनले धारणा राखे ।
समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ सदस्यीय बनाउने र सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको मत छ । त्यस्तै राष्ट्रियसभा सदस्यको संख्या पनि ३५ मा झार्नुपर्ने पौडेलले बताए । हाल प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी २७५ सदस्यीय छ । त्यस्तै राष्ट्रियसभा भने ५९ सदस्यीय रहेको छ ।
