काठमाडौँ आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वर स्थित दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

