काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा २० दिनसम्म अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले आधा बाटोबाटै अनुसन्धान प्रक्रियालाई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
आइतबार विभागमा पत्रकार सम्मेलन गरी महानिर्देशक नवराज ढुंगानाले अनुसन्धानका क्रममा भेटिएका प्रमाणहरुले यो एक संगठित अपराध भएको निष्कर्षमा पुगिएको र त्यसको अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको बताए ।
विभागले विशेष अप्रेशन चलाएर विमानस्थल भन्सार हाताबाट बरामद गरेको सुन कुन गुणस्तरको र कति किलो हो भन्नेसम्मको प्रतिवेदन पनि तयार हुन सकेको छैन ।
अनुसन्धान नै नसकिएकाले अनुसन्धान प्रतिवेदन तयार हुने कुरै भएन । प्रधानमन्त्री कार्यालय मातहतको विभाग अपुरो रिपोर्ट प्रहरीलाई बुझाएर आइतबारबाट अनुसन्धानका सबै प्रक्रियाबाट अलग्गिएको छ ।
संगठित अपराधलाई थप बलियो ढंगबाट अनुसन्धान गर्नुपर्ने देखिएको र यसबारे प्रधानमन्त्री तथा नेपाल प्रहरीसँग गहन छलफल गरेपछि अनुसन्धानको जिम्मा प्रहरीलाई दिने निष्कर्षमा पुगेको महानिर्देशक ढुंगानाले बताए ।
‘संगठित अपराधमा अनुसन्धान गर्न सकिने बृहत्तर क्षेत्र देखिएपछि प्रहरीको नेतृत्वमा अनुसन्धान गर्ने निष्कर्षमा पुग्यौं,’ महानिर्देशक ढुंगानाले भने, ‘राजस्व चुहावटको ‘बेस’ मा रहेर अब प्रहरीको नेतृत्वमा संगठित अपराधको अनुसन्धान अघि बढ्छ ।’
