काठमाडौं । एकीकृत पूर्वाधार विकास र विकास साझेदार बीचको समन्वयका लागि काठमाडौं महानगरपालिकामा सम्पर्क कार्यालय स्थापना हुने भएको छ ।
बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विकास निर्माणका काम गर्ने कार्यालयहरु फरक ठाउँमा हुँदा कुनै काम अर्काको जिम्मेवारीमा भएको देखाएर तर्किँदै आएको बताएका थिए ।
विकासको काम अन्तरसम्बन्धित बनाउन साझेदार कार्यालयलाई बारम्बार भनेपनि सुनुवाइ नभएको भन्दै महानगरपालिकामै समन्वय कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव बालेनले गरेका थिए ।
‘सबै कार्यालयका प्रतिनिधि एकै ठाउँमा भेटेपछि सेवाग्राहीले समस्या लिएर ठाउँठाउँमा धाउनुपर्दैन । पूर्वाधार निर्माण गर्नु पर्ने, मर्मत गर्नुपर्ने, खाल्टाखुल्टी टाल्नुपर्ने कामका लागि यही सम्पर्क कार्यालयका अधिकारीले काम गर्नेछन्’, बालेनले भने ।
महानगरले बुधबार पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेपछि यस्तो निर्णय भएको हो ।
