काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेर प्रहरीले सुरु गरेका ललितानिवास जग्गा प्रकरणको अनुसन्धान ६२ दिनपछि सरकारी लिखत किर्तेको कसूरमा सीमित भएको छ ।
संगठित अपराध र सरकारी लिखत किर्तेको कसूरमा अनुसन्धान गरेर प्रहरीले बुझाएको रायसहित प्रतिवेदनलाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले किर्ते कसूरमा मात्र सीमित गराएको हो ।
कानूनतः कीर्तेको कसूरमा प्रहरीले अधिकतम २४ दिनभित्र अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसक्नुपर्छ । २५औं दिनभित्र अदालतमा मुद्दा दर्ता भइसक्नुपर्ने प्रावधान छ ।
ललिता निवास प्रकरणमा कीर्तेसँगै संगठित अपराधमा अनुसन्धान गर्न भनेर पटक–पटक म्याद थप भयो । तर आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत, काठमाडौंमा २९० जनाविरुद्ध कीर्तेमा मात्र मुद्दा दायर गरेको छ ।
