विराटनगर । बुधबार बेलुका विराटनगर महानगरपालिकाको नगर प्रहरीले जनता सामाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको छ ।
विवाद भएपछि यादवलाई कुटपिट र लछारपछार गरेको हो । यादव विराटनगरको अस्पताल चोकस्थित स्नेहा फार्मेसीका सञ्चालक हुन् ।
उनको पसल अगाडि बुधबार नो पार्किङमा रोकेको सिटी सफारीमा ह्वील लक लगाइदिएको थियो । बेलुका करिब ४ बजे पसल पुगेका यादवलाई सफारी चालकले प्रहरीले लक लगाएको र खोल्न आग्रह गर्दा नमानेको गुनासो गरे ।
‘सफारी चालकले लक खोल्दिएन भन्दै गुनासो गरेपछि मैले नजिकै रहेको नगर प्रहरीलाई के गरेको भाइ जरिवाना लिने भए लिएर छाडिदिहाल्नु नि किन दुःख दिएको भनेँ, त्यत्तिकैमा विवाद भयो’, यादवले भने ।
त्यस क्रममा नगर प्रहरीसँग धकेलाधकेल भएको यादवले बताए । ‘नगर प्रहरीले मलाई ठेलेपछि मैले पनि धकेलिदिए, त्यसपछि नगर प्रहरीको टोली आएर लछारपछार पार्दै पसलबाट निकालेर प्रहरी कार्यालय लग्यो’, यादवले भने ।
घटनापछि नगर प्रहरीको टोलीले स्नेहा फार्मेसीबाटै यादवलाई समातेर वडा प्रहरी कार्यालय पुर्याएको थियो । नगर प्रहरीले आफूलाई लछारपछार पार्दै लगेको यादवले बताए । उनलाई प्रहरीले लिएर गएलगत्तै मेयर नागेश कोइराला पनि वडा प्रहरी कार्यालयमा पुगेका थिए । ‘मेयरले गल्ती गरे केटाहरुले भनेपछि मैले सामान्य रुपमा लिएँ’, यादवले भने, ‘दोकानमा अभद्र व्यवहार भयो, यो व्यवहार त राम्रो भएन ।’
‘घटनापछि वडा प्रहरी कार्यालयमा बसेर छलफलपछि सहमति भइसकेको विषय हो’, उनले भने, ‘कसैले भिडियो आउट गरिदिएका कारण बाहिर आयो, महानगर प्रमुख र उहाँ बसेर एक अर्कामा गल्ती स्वीकारेर सटडाउन गरिसकेको विषय हो ।’
