नेपाल एसियाली खेलकुद २१ करोड खर्चमा खेल्दै

काठमाडौं । नेपालले खेल्ने तीन अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामध्ये दक्षिण एसियाली खेलकुद (साग) र एसियाली खेलकुद (एसियाड), विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको तुलनामा फरक छन् । यी प्रतियोगितामा समावेश गरिएका खेलमा नेपालले जुनमा पनि प्रतिस्पर्धा गर्न पाउँछ ।

खेलाडी पनि अधिकतम मात्रामा सहभागी हुन सक्छन् । कुनै छनोट प्रतियोगिता वा मापदण्ड पार गर्नु पर्दैन, ओलम्पिकमा जस्तो। त्यसैले राज्यले चाहेमा नेपाली खेलाडीहरू सहभागी हुन सक्ने अन्तर्राष्ट्रिय खेलकुद महोत्सव हुन्, साग र एसियाड ।

नेपालले विभिन्न २९ खेलका २ सय ५३ खेलाडी लिएर एसियाडको १९ औँ संस्करणमा उत्रँदै छ, चीनको होङझोउमा, आगामी साता । जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय च्याम्पियन बनेकाहरू एसियाड खेल्ने सपना पुरा गर्दैछन् । खेल्ने किन मात्र भनेको हो भने अधिकांश नेपाली खेलाडीका लागि यो प्रतियोगिता खेल्नमा मात्र सीमित रही आएको छ । पछिल्ला तीन संस्करणमा हरेक पटक नेपालले एउटा मात्र पदक जितेको छ ।

सन् १९५१ देखि एसियाली खेलकुद खेल्न थालेको नेपालले हालसम्म एसियाडमा २ रजत र २२ कांस्य पदक जितेको छ । तेक्वान्दो, कराँते, बक्सिङ र प्याराग्लाइडिङबाहेकका खेलले नेपाललाई पदक दिलाउन सकेका छैनन् । होङझोउ एसियाडमा समावेश गरिएकामध्ये ११ वटा खेलमा मात्र नेपालले भाग लिएको छैन।

टेबल टेनिस, कुस्ती, लन टेनिस, सुटिङ, र्‍याफ्टिङ एन्ड क्यानोइङ, गल्फ, एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, पौडी, जुडो, कबड्डी, ह्यान्डबल, ट्रायथलन, स्क्वास,बक्सिङ, उसु, कराँते, तेक्वान्दो, भलिबल, आर्चरी, साइक्लिङ, फेन्सिङ, भारोत्तोलन, रग्बी, डान्स स्पोर्ट्स, क्रिकेट, बास्केटबल र ई-स्पोर्टसमा नेपाल सहभागी हुँदै छ ।

क्यानोइङ, ई-स्पोर्टस, रग्बीसहितका केही खेलमा नेपालले पहिलो पटक एसियाड खेल्न लागेको छ ।

नेपालले सन् २०१९ को डिसेम्बरमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा ५१ स्वर्ण, ६० रजत र ९६ कांस्यसहित सहभागी ७ राष्ट्रमा दोस्रो भएको थियो ।

त्यसभन्दा अघिल्लो संस्करणमा नेपालले ३ स्वर्ण, २३ रजत र ३५ कांस्य हात पारेको थियो । १३ औँ सागमा नेपालका लागि ट्रायथलन, तेक्वान्दो, पौडी, बक्सिङ, कराँते, एथलेटिक्स, उसु, साइक्लिङ, भारोत्तोलन, गल्फ, कुस्ती, जुडो र फुटबलमा स्वर्ण पदक प्राप्त भएको थियो ।

दक्षिण एसियाली खेलकुदमा प्राप्त त्यस परिणामले नेपाल हौसिएको छ । तर यी खेलमा बाँकी एसिया निकै सशक्त छ । चीन, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, उज्बेकिस्तान, इरान, भारत, थाइल्यान्ड, बहराइन, उत्तर कोरियाजस्ता देशहरूसँग नेपालको पदक संघर्ष भगवान् भरोसाभन्दा कम हुने छैन ।

नेपालले एसियाडका लागि असार १ गतेदेखि मात्र औपचारिक तयारी थालेको थियो । साउनदेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । दैनिक २ हजार रुपैयाँ भत्ता लिएर खेलाडीले खाने र बस्ने व्यवस्था त्यसैबाट मिलाई एसियाली खेलकुदको तयारी गर्दैछन् ।

यसरी तयारी गरेका खेलाडीले एसियाडमा स्वर्ण जिते ३२ लाख ५० हजार, रजत जिते १९ लाख ५० हजार र कांस्य जिते १३ लाख रुपैयाँ पाउनेछन्। यस्तै एसियन गेम्समा स्वर्ण पदक वा अन्य कुनै दुई वटा पदक जिते जीवनभर एक पटकका लागि आवास सुविधाबापत एकमुस्ट २५ लाख रुपैयाँ सरकारले उपलब्ध गराउन सक्ने पनि कानुनी व्यवस्था रहेको छ ।

 

जम्बो टोलीसहित एसियाड खेल्न जान लागेको नेपालसँग प्रतियोगिताका लागि कुनै स्पष्ट लक्ष्य छैन । नेपालले कति पदक जित्ने लक्ष्य लिएको छ प्रश्नको जवाफ सम्बन्धित खेल अधिकारीहरूसँग छैन ।

शुक्रवार बिदाइ थाप्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पुगेको नेपाली टोलीसामु बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीले सुखद नतिजा दिलाउने विश्वास व्यक्त गरेका थिए । त्यसपछाडि खेलाडीको तीन चरणको छनोट प्रतियोगिता भएको र स्वदेश तथा विदेशमा प्रशिक्षण गरिरहेको कारण प्रस्तुत गरेका थिए ।

राखेपले विगत र वर्तमानको प्रदर्शन तथा नतिजाका आधारमा तेक्वान्दो, कराँते र बक्सिङलाई पहिलो प्राथमिकता दिएर प्रशिक्षण गराउँदै आएको छ । १९ औँ एसियाड तयारी समितिका सचिव प्रचण्ड शर्मा जित्न सक्ने पदकको संख्याबारे कुनै अनुमान नभएको बताउँछन् ।

 

‘न्यूनतम कति जित्ने भन्ने कुरा नै भएन। जित्न सकिन्छ की भन्ने मात्र हो । कतिपयमा सहभागिता मात्र हो’, तालिम तथा प्रशिक्षण विभागका प्रमुखसमेत रहेका शर्मा भन्छन् । उनले तेक्वान्दो, कराँते र बक्सिङमा पदकको आशा गरिएको बताए ।

‘त्यसबाहेक ई-स्पोर्टस, गल्फ, क्यानोइङमा पनि जित्न सकिन्छ की भन्ने हो तर आशा नै गरेको भन्ने चाहिँ होइन’, शर्माले भने ।

‘टाइमिङ’ले पदक निर्धारण हुने खेलमा नेपालले राष्ट्रिय कीर्तिमान सुधार गर्ने मात्र अवस्था रहेको राखेपका अधिकारीहरू बताउँछन् ।

साग, एसियाड, ओलम्पिकजस्ता अन्तर्राष्ट्रिय खेलकुद महाकुम्भहरूमा पदक जित्न बलिया देशहरूले पदकको सम्भावना बोकेका खेल र खेलाडीहरूमा बेलैदेखि तयारी सुरु गर्छन् ।

उनीहरूले वर्षौँको तयारी र मिहेनत गरेका हुन्छन् । खेलाडीहरू खेलिरहने र उनीहरूले माथिल्लोस्तरको एक्सपोज पाइरहन खेल संघदेखि ओलम्पिक कमिटी लागि परेको देखिन्छ ।

खेलाडीका स-सना प्राविधिक पक्षहरूको मूल्याङ्कन गरी उनीहरूलाई प्रतिस्पर्धीलाई पराजित गर्न सक्ने स्तरमा तयार गरिन्छ ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठ खेलाडीलाई तयार गर्न यस पटक सक्दो मिहेनत गरिएको बताउँछन्। ‘एसियाडका लागि छनोट हुने खेलाडीहरूले बाह्रै महिना नियमित प्रशिक्षण गरिरहेकै हुन्छन् । हाम्रो स्रोत साधनले भ्याएसम्म यस पटक खेलाडीको तयारी भइरहेको छ’, श्रेष्ठले भने । तर पदक जित्न यो तयारी पर्याप्त नरहेको उनी संकेत गर्छन् ।

‘खेलाडी रातारात तयार हुँदैन। हामीले छोटो समयमा धेरै काम गरेका छौँ। खेलाडी अन्तर्राष्ट्रिय पदक जित्न सक्नेस्तरमा तयार हुन लामो समय लाग्छ र हामीले लामो समयदेखि तयारी गर्नुपर्छ’, पूर्व एथलेटिक्स खेलाडीसमेत रहेका श्रेष्ठ भन्छन् ।

शुक्रवार प्रधानमन्त्री प्रचण्डले गरेको बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटी(एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता पूर्व समयमै सरकारले बजेटको सुनिश्चितता गरिदिए खेलाडीले राम्रो तयारी गर्न पाउने र सुखद नतिजाको अपेक्षा गर्न सकिने बताएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->