मणिपाल अस्पतालमा डाक्टरमाथि आक्रमण र तोडफोड गरेका ७ जना धरौटीमा रिहा

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण र तोडफोड गरेको आरोपमा पक्राउ परेका २ जना काराकार चलान भएका छन् भने ७ जना धरौटीमा रिहा भएका छन् ।

अस्पतालमा तोडफोड भएकै दिन गत असोज ८ पक्राउ परेका विनय गुरुङ र असोज १२ गते पक्राउ परेका छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान भएका हुन् । पक्राउ परेका बाँकी ७ जना भने १/१ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी ७ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । धरौटीमा रिहा हुनेमा सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनिष थापा र विजय गुरुङ छन् ।

गत असोज ८ गते लमजुङबाट उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा ल्याइएकी सुकमाया दुराको मृत्यु भएपछि तनाब उत्पन्न भएको थियो । मृतकका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शनका क्रममा डा. अनिल शाहमाथि आक्रमण भएको थियो ।

मणिपालमा भएको तनाब क्रममा कमाण्ड सम्हालेका तत्कालीन बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकाश जोशी हेडक्वाटर तानिएका थिए भने आक्रोशित भीडलाई झनै उत्तेजित बनाउने अभिव्यक्ति दिएका प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बनमै परेका छन् ।

मणिपालको घटनालाई लिएर देशभर चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम मुद्दा दर्ता चलाएको हो । आफन्त, प्रशासन र अस्पतालबीच पटक पटकको वार्तापछि मृत्यु भएको ८ दिनपछि १६ असोजमा सुकमायाको शव उठेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->