५ महिनादेखि तातोपानी भन्सार नाकामा रोकिएको ३५ सय मेट्रिक टन युरिया मल अब किसानसम्म जाने

काठमाडौं । कृषि सामग्री कम्पनी अदालत गएका कारण करिब ५ महिनादेखि तातोपानी भन्सार नाकामा रोकिएको ३५ सय मेट्रिक टन  युरिया मल अब किसानसम्म जाने भएको छ ।

सर्वोच्च अदालतले कृषि सामग्री कम्पनी लिमिटेड र मलको ठेक्का पारेको कम्पनीलाई आपसी समझदारी गरेर मल ल्याउन आदेश दिएबमोजिम दुवै पक्षबीच गत २४ गते बुधवार सम्झौता भएपछि  ७० हजार बोरा भन्सारमा रोकिएको मल अब आउने भएको हो ।

यसपालि पहिलो पटक नेपालमा मल आयातको ठेक्का नेपाली कम्पनीले पाएको थियो । विगतदेखि मलमा एकाधिकार जमाउँदै आएका विदेशी कम्पनीका विशेष गरी भारतीय एजेन्टहरूले नेपालीले मल ल्याउन सक्दैनन् भन्ने भाष्य स्थापित गर्न मुद्दा मामिला र अनेक अवरोध सिर्जना गरेका कारण ५ महिनादेखि मल भन्सारमै रहेको थियो ।

मलको आपूर्तिकर्ता सिल्क सीनोम्याचरग्लोबल म्याटिक्सरविध जेभीले अब भन्सारमा रोकिएको ३५ सय मेट्रिक टनसहित थप २० हजार टन मल पनि १०७ दिनभित्र ल्याइसक्ने सम्झौता दुबै पक्षबीच भएको छ ।

मल आपूर्तिकर्तासँग ठेक्का सम्झौताको बेला उल्लेख भएको मूल्यभन्दा अन्तर्राष्ट्रिय बजारमा अहिले घटेको भन्दै कृषि सामग्री कम्पनीले पहिलेको मूल्यमा मल लिन नसकिने भनेपछि करिब एक अर्ब ३० रुपैयाँ कम गरेर सरकारले मल लिन सहमत भएको बताइएको छ ।

कृषि सामग्री कम्पनीले मल समयमा नआएको भन्दै अब मल नलिने भनेर मुद्दामा गएकोमा उच्च अदालत पाटनले मल लिने समय तोकेर आदेश दिएको थियो । त्यसकोविरुद्ध कम्पनी सर्वोच्चमा गएको थियो ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र हरि फुयाँलको इजलासमा राय बाझी भएपछि पूर्ण इजलासमा गएको सो मुद्दामा असोज १८ गते सुनुवाइ गर्दै दुवै पक्षलाई मिल्न समय दिएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->