पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आउने भएपछि अन्नपूर्ण आधार शिविरमा स्वागत कार्यक्रमको तयारी गरिएको छ ।
सोमबार आधार शिविर ९बेसक्याम्प० मा नयाँ हेलिप्याड बनाउनेदेखि सुरक्षा व्यवस्था कडाइ गर्ने काम भइरहेको अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । गुटेरेसको स्वागत तयारीका लागि आइतबार नै गाउँपालिकाको टोली आधार शिविर पुगेको थियो ।
हालसम्म साना व्यवसायिक हेलिकप्टर अवतरण गर्न आधार शिविरमा एउटामात्रै हेलिप्याड थियो । तर, गुटेरेससहितको टोलीका लागि नेपाली सेनाको सहयोगमा थप २ वटा हेलिप्याड बनाइएको छ ।
गुटरेसलाई स्वागत गर्न आधार शिविरमा रातो कार्पेट ओच्छ्याउने तयारी छ । सोमबार पोखरामै बास बसेर मंगलबार बिहान ६ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने तालिका छ ।
