काठमाडौं । खुला कारागारको अवधारणा अन्तर्गत पहिलो चरणमा करिब दुई हजार कैदीले जेलबाहिर बस्ने सुविधा पाउने भएका छन् ।
गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार खुला कारागार व्यवस्थापन कार्यसञ्चालन कार्यविधि बनेर कार्यान्वयनको चरणमा पुगेको छ । ‘पहिलो चरणमा दुई हजारले सुविधा पाउँदैछन्’ सहसचिव भट्टराईले मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा भने । उनका अनुसार समय समयमा कारागारमै उपस्थित हुनुपर्ने गरी जेल बाहिर बसेर कैद भुक्तान गर्न सक्ने गरी कार्यविधि बनेको छ ।
एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुरदारले यस्तो सुविधा पाउँछन् । तर, जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, तेजाब आक्रमण, मानव बेचबिखन, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना, मानवताविरुद्धको अपराधजस्ता नकारात्मक सूचीका अपराधमा संलग्न कसुरदारले सुविधा पाउने छैनन् ।
