काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार र सडक दुबै कब्जा गर्न खोजेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संघीय सरकारको नेतृत्व गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमै बसेर सडकमा प्रदर्शन गर्ने निर्णय गरेका छन् । उनी अध्यक्ष रहेको माओवादी केन्द्रले २२ मंसिरमा काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना हुनथालेको छ ।
सरकार र सडक दुबै माओवाद केन्द्रले आफ्नो कब्जा जमाउँन खोजेको भन्दै आलोचना भईरहेको छ । समान्यता त सरकारको नेतृत्व गरिरहेको दलले सडकमा प्रदर्शन नगरी आफ्ना एजेण्डा र माग सरकार मार्फत नै कार्यान्वयन गर्न सक्छ ।
विपक्षी दलका नेता तथा कतिपय सर्वसधारणले अर्थतन्त्र डामाडोल पारेको अपजस ढाकछोप गर्न माओवादी केन्द्र सडकमा सत्ता अराजकता देखाउने प्रयास गरेको टिप्पणी गरेका छन् । आफ्नै नेतृत्वमा सरकार चलाइरहेको दलले राजनीतिक अनुशासनको लक्ष्मणरेखा तोड्दै सडक संघर्ष गर्ने घोषणा गर्नुलाई धेरैले रुचाएका छैनन् । सो दिन सडक संघर्ष गर्नेगरी माओवादीले मंगलबार बिहान पार्टी कमिटीहरूमा सर्कुलर जारी गरिसकेको छ ।
१० वर्षे सशस्त्र विद्रोह त्यागेर शान्तिप्रकृयामा आएको माओवादी केन्द्रको सत्तायात्रा १२ बैशाख २०६२ देखी शुरु भएको थियो । त्यसपछि केही समयबाहेक सत्तामै रहेको माओवादी केन्द्रले २५ असोज २०७२ यता भने सरकार छाड्नु परेको छैन ।
झण्डै ९ वर्षसम्म लगातार सत्तामा रहेको माओवादी केन्द्रले अँगालेको ‘आसेपासे पूँजीवाद’ले मुलकको अर्थतन्त्रमा संकट निम्त्याएको छ । सरकारको नेतृत्व गरेका कारण प्रधानमन्त्रीले अर्थतन्त्र सुधार्ने नीति ल्याएर कार्यान्वयन गर्नुको साटो सडकमा सत्ता अराजकता देखाउँन खोजेको टिप्पणी आलोचकहरुले गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले लिएको निर्णयबारे परिपत्र गर्दै त्यसलाई कार्यान्वयन गर्न भनिएको छ । माओवादी केन्द्रको जारी विशेष अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा जनप्रदर्शन गर्न लागिएको हो ।
माओवादी केन्द्रले जारी गरेको परिपत्रमा भनिएको छ, ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधिनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।’
माओवादी केन्द्र उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले २२ मंसिरमा काठमाडौंमा सडक प्रदर्शन समेत हुने बताए । प्रचण्डको अभिव्यक्तिदेखि सापकोटाको प्रतिक्रियासम्म जोडेर हेर्दा जनप्रदर्शनका नाममा सडकमा सत्ता अराजकता देखाउँन खोजिएको देखिन्छ । सरकारको नेतृत्व गरेको दलले प्रभावकारी काम गरेर व्यवस्थाको औचित्य पुष्टि गर्नेतर्फ ध्यान दिनुको सट्टा सडकमा मान्छे उतारेर व्यवस्थाको रक्षा गर्ने कमजोर तर्क अघि सारेको भन्दै आलोचना भइरहेको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीको अभियान चलिरहेकाले त्यसको अन्तिममा जनप्रदर्शनका कार्यक्रमहरू गर्ने, सभाहरु गर्ने भनेर पहिल्यै भनेको र त्यसक्रममा काठमाडौंको कार्यक्रम चाहिँ एकै ठाउँमा गर्न लागेको बताए ।
‘विरोध प्रदर्शन होइन, जनप्रदर्शन हो । जनप्रदर्शन भन्नु र विरोध प्रदर्शन भन्नुमा फरक छ’ महासचिव गुरुङले भने, ‘यो कसैको विरोध र समर्थनभन्दा पनि विचारको कुरा जनतामाझ लैजाने कुरा हो ।’
केही समय अघि मात्रै प्रधानमन्त्री प्रचण्डले बर्खा सकिए लगत्तै सडकमा लाखौँ मान्छे उतार्ने चेतावनी दिएका थिए । त्यतिबेलै उनको अभिव्यक्तिको आलोचना भएको थियो । तर उनले राष्ट्रियता, जनजीविका र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको जग हल्लाउन मान्छे उतार्ने उनले उदघोष गरेका थिए ।
माओवादी केन्द्रका महासचिव गुरुङले भने जनप्रदर्शन यसअघि सरकारका भएका बेलामा कांग्रेस र एमाले जस्ता पार्टीले पनि गर्ने गरेको भन्दै आफूहरूको प्रदर्शन स्वभाविक भएको बताउँछन् । उनले जनप्रदर्शनका क्रममा सरकारका विरुद्ध कार्यक्रम नगर्ने बताए ।
प्रतिनिधि सभामा न्यून सिट संख्या भएता पनि सरकारको नेतृत्व गरिरहेको पार्टीले कतिबेला सत्ताबाट हट्नुपर्ने हो भन्ने अन्यौल रहिरहेको बेलामा प्रधानमन्त्री प्रचण्डले बेलाबखत विभिन्न अस्त्रमार्फत् सत्ता साझेदार दल र विपक्षी पार्टीमाथि दबाब सिर्जना गर्दै आएका छन् ।
सडकमा मान्छे उतार्ने भनेर उनले गरेको घोषणा र पछिल्लो निर्णयलाई त्यही रुपमा बुझ्न सकिन्छ । यसले कतै माओवादी नेतृत्वको सरकार संकटउन्मुख भइसकेको त होइन भनेर आशंका पनि थपिएको छ । तर माओवादी केन्द्रका प्रवक्ता सापकोटाले सत्ता जोगाउँनका लागि जनप्रदर्शन नभएको भन्दै अस्वीकार गरेका छन् । सत्ताबाट बाहिर बाहिरिनुपर्ने संकेत पाएर आफूहरुले जनप्रदर्शन नगरेको भन्दै उनले यो पूर्वनिर्धारित कार्यक्रमकै रुपमा बुझनुपर्ने बताए ।
‘सरकारबाट बाहिरिनुपर्ने कुनै कारण वा संकेत छैन् । त्यस्तो होईन । सरकारमा बसेर पनि राम्रो काम गरेका छौँ । राम्रो कामको प्रचार गर्न र जनतालाई बुझाउन पनि यो प्रर्दशन आयोजना गरिएको हो’ प्रवक्ता सापकोटाले भने, ‘मूलतः गणतन्त्रको रक्षा र अहिलेको उपलब्धिहरूको रक्षाका लागि यस्तो निर्णय गरिएको हो ।’
