रवि लामिछाने :विदेश गएकाले पनि विदेशबाट मतदान गर्न पाउनुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिना श्रम स्वीकृति विदेश गएकाले पनि विदेशबाट मतदान गर्न पाउनुपर्ने बताएका छन् ।

बिना श्रम स्वीकृति विदेश जानु धेरै नेपालीको बाध्यता भएकाले श्रम स्वीकृति लिएकालाई मात्रै मताधिकार दिने प्रस्तावमा पुनबिर्चार गर्न उनको आग्रह छ । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कामकारबाहीका विषयमा छलफल थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता संकलनको कार्य सुरु गर्न लागिएको र विदेशबाट मतदान गर्ने व्यवस्थाका लागि कानुन बनाउने प्रक्रिया अगाडि बढेको बताएका थिए ।

त्यसपछिको छलफलमा भाग लिँदै रास्वपा सभापति लामिछानेले गैरकानुनी रुपमा बसिरहेकाहरुलाई पनि मताधिकार दिइनुपर्ने बताएका हुन् । ‘श्रम स्वीकृत नलिएर विदेशमा बसेको भएपनि ती नेपाली हुन् । उनीहरुसँग नेपाली नागरिकता हुन्छ । त्यसकारण इलिगल गएकाहरुले पनि मतदान गर्न पाउनुपर्छ’, सभापति लामिछानेले भने ।

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न सक्ने गरी एकीकृत निर्वाचन कानुन निर्माणका लागि मस्यौदा गृहमन्त्रालयमा पेश गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->