काठमाडौं । प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
प्रदेशका गृहमन्त्री आन्तरिक मामिला तथा कानूनमन्त्री हरुले संयुक्त रुपमा भेटेर यथाशीघ्र प्रहरी समायोजन गर्न माग गरेका हुन् ।
मंगलबार उनीहरुले प्रहरीको संरचना र कर्मचारी प्रदेशमा हस्तान्तरण नगर्दा प्रदेशको शान्ति सुरक्षामा प्रभावकारी हुन नसकेको भन्दै अविलम्व प्रहरी समायोजन गरी शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश मातहत ल्याउन माग गरेका हुन् ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाइ प्रदेशलाई अधिकार सम्पन्न बनाउन आग्रह गरिएको बताए ।
गृहमन्त्री श्रेष्ठसँगको भेटमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिम, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट सहभागी थिए ।
त्यसैगरी गण्डकी प्रदेशकी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी र कोशी प्रदेश सरकारका बिना विभागिय मन्त्री समशेर राई पनि सहभागी थिए ।
