प्रहरी ऐन संशोधनको तयारी, २५ वर्ष नाघेको व्यक्ति पनि इन्स्पेक्टरमा भर्ना हुन पाउने

काठमाडौँ। संसद नचलेको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधनको तयारी गरेको छ । प्रदेशहरुको मागलाई सम्बोधन गर्दै सरकारले प्रहरी समायोजन सम्बन्धी व्यवस्थालाई पनि अध्यादेश मार्फत नै परिमार्जनको तयारी गरेको हो ।

प्रस्तावित ‘नेपाल प्रहरी ऐन अध्यादेश–२०८०’ जारी भएपछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्ना हुन चाहने व्यक्तिले २७ वर्षको उमेरसम्म आवेदन दिन पाउनेछन् ।

प्रहरी ऐन र नियमावलीमा रहेको साविकको व्यवस्थाअनुसार जनपद प्रहरी बन्न चाहने व्यक्तिले तीन तहमा खुला प्रतिस्पर्धा गर्न पाउँछन् ।

प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ । त्यस्तै, इन्स्पेक्टरमा ६० प्रतिशत खुलाबाट र ४० प्रतिशत आन्तरिकबाट भर्ना लिने गरिएको छ ।

प्रहरी इन्स्पेक्टरलाई प्रहरी सेवामा जान चाहने युवाहरुको आकर्षक रोजाइको जागिर मान्ने गरिएको छ ।
यो पदका लागि अहिलेसम्मको उमेर हद २० वर्ष पूरा भई २५ वर्ष नकटेको हुनुपर्ने रहेको छ । तर, अब हुने संशोधनले इन्सपेक्टर भर्नाको उमेर हद २७ वर्ष बनाउन लागिएको गृहमन्त्रालय स्रोतले खबरहबलाई बतायो ।

स्रोतले भन्यो, ‘इन्स्पेक्टरको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने भन्ने छ, अहिले स्नातक तहलाई चारवर्षे बनाइएकाले इन्स्पेक्टरको उमेर हद पनि बढाउनुपर्ने अवस्था आएको हो । अब नयाँ व्यवस्था अनुसार २७ वर्षको उमेर नकट्दासम्म इन्स्पेक्टरमा लड्न पाइन्छ ।

संशोधित प्रहरी ऐनमा प्रहरी कर्मचारीको बढुवाको आधारलाई पनि परिमार्जन गरिन लागेको स्रोतले बतायो ।
प्रहरीको बढुवामा संगठनका अधिकृतहरुभन्दा लोकसेवालाई बढी जिम्मेवार बनाउने र चुनौतीपूर्ण काममा दिइने नम्बरलाई पनि तर्कसम्मत बनाइने गृहका अधिकारी बताउँछन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->